काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्वजनमुक्ति सेना (पीएलए) का सदस्यहरूलाई काठमाडौं उपत्यकामा सम्पर्कमा आउन आह्वान गरेको छ ।
नेकपा नेता तथा पीएलएका पूर्वडिभिजन कमान्डर सन्तु दराईले सामाजिक सञ्जालमार्फत उपत्यकाभित्र रहेका पूर्वपीएलए सदस्यहरूलाई सम्पर्क गर्न आग्रह गरेका हुन् ।
उनले सार्वजनिक गरेको सूचनामा काठमाडौं उपत्यकाभित्र रहेका पूर्वपीएलएका साथीहरूलाई सम्पर्कमा आउन भनिएको छ । तर, उनीहरूलाई सम्पर्कमा आउन आग्रह गर्नुको उद्देश्य र त्यसपछिको कार्यक्रमबारे भने दराईले केही खुलाएका छैनन् ।
दराईको उक्त आह्वानपछि पूर्वजनमुक्ति सेनाका सदस्यहरूलाई काठमाडौंमा केन्द्रित गर्न खोजिएको विषयले चासो बढाएको छ ।
