सर्लाही । सर्लाहीको बरहथवास्थित जीर्ण पुल फेरि एक युवकका लागि मृत्युको कारण बनेको छ । बरहथवा नगरपालिका–१७ कटानीमा रहेको बागमती सिँचाइ आयोजनाको जीर्ण पुलबाट मोटरसाइकल नहरमा खस्दा २३ वर्षीय युवकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् ।
बुधबार साँझ करिब पौने ८ बजे मलंगवाबाट सितापुरतर्फ जाँदै गरेको प्रदेश २–०३–००७ प ८५८० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पुलबाट सिधै नहरमा खसेको थियो ।
दुर्घटनामा बरहथवा नगरपालिका–१ नयाँ बजारका २३ वर्षीय रुपेश पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि बेहोस अवस्थामा उद्धार गरिएका उनलाई उपचारका लागि बरहथवास्थित भेनस अस्पताल पुर्याइएको थियो । तर, चिकित्सकले राति ८ बजे उनलाई मृत घोषणा गरेका थिए ।
मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २२ वर्षीय सुवेश पासवान भने घाइते भएका छन् । उनको चिउँडोमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
