गाउँगाउँमा क्रिकेटको क्रेज, खेतबारीमै चम्किँदै स्थानीय प्रतिभा

बझाङ ।  बझाङका गाउँगाउँमा पछिल्लो समय क्रिकेटको आकर्षण बढ्दै गएको छ । कुनै समय मोबाइल तथा टेलिभिजनका स्क्रिनमा राष्ट्रिय टोलीको खेल हेरेर रमाउने ग्रामीण क्षेत्रका युवा अहिले आफैँ मैदानमा उत्रिएर क्रिकेट खेल्न थालेका छन् ।

दसैँ, तिहार र छठ पर्वको अवसर पारेर आयोजना हुने सांस्कृतिक तथा खेलकुद कार्यक्रमसँगै गाउँगाउँमा क्रिकेट प्रतियोगिता सञ्चालन हुन थालेपछि स्थानीय खेलाडीमा नयाँ उत्साह थपिएको हो ।

खेलमैदानको अभाव, सीमित स्रोतसाधन र पर्याप्त सरकारी लगानी नहुँदा पनि बझाङका युवाले खेतबारी, खुला चौर तथा उपलब्ध खाली ठाउँलाई क्रिकेट मैदानका रूपमा प्रयोग गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरिरहेका छन् । पछिल्लो समय नेपाल प्रिमियर लिग (एनपिएल) ले क्रिकेटप्रति थप आकर्षण जगाएपछि जिल्लाका विभिन्न गाउँमा प्रतियोगिताको विस्तार हुँदै गएको छ ।

बाँस्काटिया युवा जागरण अभियानका क्रिकेट संयोजक चक्रजङ्ग रोकायाको पहलमा यस वर्ष खप्तडछान्ना गाउँपालिकामा पहिलोपटक क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो ।

दसैँ–तिहारको अवसरमा गाउँमा सांस्कृतिक तथा खेलकुद कार्यक्रम गर्ने तयारी भइरहेका बेला सुरू भएको प्रतियोगितामा बाँस्काटियामा १८ वटा टोलीले नाम दर्ता गरी प्रतिस्पर्धामा उत्रिएका थिए । मोबाइल तथा टेलिभिजनमा राष्ट्रिय टोलीको खेल हेर्दै आएका स्थानीय युवाका लागि आफ्नै गाउँमा क्रिकेट खेल्ने अवसर नयाँ अनुभव बन्यो ।

रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *