मधेसका मुख्यमन्त्री यादवले दिए राजीनामा

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत पाउने अवस्था नरहेपछि पदबाट राजीनामा दिनुभएकाे छ । विश्वासको मत लिने प्रयोजनका निम्ति शनिबार (कात्तिक २८) बसेको प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उहाँले राजीनामाको घोषणा गर्नुभएकाे हाे ।

नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उहाँले विश्वासको मत पाउने अवस्था कमजोर बनेको थियो । मुख्यमन्त्री यादवले अंकगणितीय हिसाबले पदमा रहनुभन्दा जनताको सेवा र विश्वासलाई प्राथमिकता दिँदै राजीनामा दिएको बताउनुभयाे ।

नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी एमालेका चार मन्त्रीले यस वर्ष असोज २५ गते सामूहिक राजीनामा दिनुभएकाे थियाे । उनीहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । नेकपाका चार मन्त्रीले कात्तिक २० गते राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए ।

मुख्यमन्त्री यादवको राजीनामापछि मधेस प्रदेशमा अब कुन दलको नेतृत्वमा सरकार गठन हुने भन्ने टुंगो लागेको छैन ।

१०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका निम्ति कम्तीमा ५४ सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा कांग्रेसका २२, एमालेका २३, जनता समाजवादी पार्टी नेपालका २७, नेकपाका १५, जनमत पार्टीका १२ सदस्य छन् । संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक/एक सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *