तिहारको तेस्रो दिन: मनाइयो कुकुर तिहार

काठमाडौं । यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताउनुभयाे ।

घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रूपमा समेत स्थापित भएको छ । तिथिको घटबढका कारण धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्ने पर्व पनि आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष सह प्राडा पुरुषोत्तम भट्टराईले जानकारी दिनुभयाे । आज साँझ दीपावली गरी लक्ष्मी पूजाको तयारी भइरहेको छ ।

नेपालीको दोस्रो ठूलो चाड तिहार यस वर्ष शुक्रबारदेखि सुरू भएको हो । यमपञ्चकको पहिलो दिन शुक्रबार नयाँ भाँडा किनी घरमा ल्याई राखेर धनतेरस पर्व मनाइएको थियो । त्यसै साँझदेखि यम दीपदान पनि सुरू भएको छ । दोस्रो दिन शनिबार सन्देशवाहकका रूपमा कागको पूजासहित मीठा खानेकुरा खान दिई मनाइएको छ ।

आयुर्वेदका प्रवर्तक धनवन्तरी जयन्ती पनि यसै दिन मनाइएको थियो । तिहारको तेस्रो दिन आज बिहान उठेर नजिकको नदी, ताल, तलाउ, पोखरी, वा धारामा गई स्नान गरिएको थियो । यसलाई नरक चतुर्दशी स्नान भनिन्छ । स्नानपछि बत्ती बालेर दक्षिण फर्काई बगाइएको थियो । यसलाई नरक बगाउने पनि भनिन्छ । बिहान नित्य कर्म सकेपछि कुकुरलाई पूजा गरी मीठा खानेकुरा खान दिइएको छ ।

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन देशभर तिहार अर्थात् यमपञ्चक पर्व मनाइन्छ । चौथो दिन कात्तिक २३ गते सोमबार गाई पूजा गरिँदै छ । पाँचौँ दिन कात्तिक २४ गते मङ्गलबार गोवर्दन पूजा, हलितिहार, बलीपूजा, गोरुपूजा पर्व परेको छ ।

नियमित तिथि गणना गर्दा पाँचौँ परेपनि दिन अनुसार छैटौँ कात्तिक २५ गते बुधबार दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि तिहार पर्व समापन हुन्छ । भाइटीकाको साइत कात्तिक २५ गते बुधबार ११ः०७ बजे उत्तम रहेको समितिका अध्यक्ष भट्टराईले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *