जलवायु जोखिममा ७३ लाख बालबालिका, थप लगानी गर्न युनिसेफको सुझाव

काठमाडौं । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले नेपालका बालबालिकामा बढ्दो जलवायु तथा वातावरणीय जोखिम न्यूनीकरण गर्न बालबालिकामैत्री जलवायु कार्यमा थप लगानी गर्न सरकारलाई सुझाव दिएको छ ।

युनिसेफले आज सार्वजनिक गरेको नयाँ पैरवी प्रतिवेदनमा नेपालका लाखौं बालबालिका जलवायु परिवर्तन, वातावरणीय प्रदूषण तथा विपद्का जोखिमबीच हुर्किरहेको उल्लेख गर्दै त्यसले उनीहरूको स्वास्थ्य, पोषण, शिक्षा, सुरक्षा र भविष्यमा गम्भीर असर पारिरहेको जनाएको छ । प्रतिवेदनले जलवायु परिवर्तनका कारण बालबालिकाको वर्तमान र भविष्य प्रभावित भइरहेको उल्लेख गर्दै जलवायुसम्बन्धी नीति, बजेट तथा कार्यक्रम निर्माण गर्दा बालबालिकालाई केन्द्रमा राखेर तत्काल कदम चाल्न आग्रह गरेको छ ।

प्रतिवेदनअनुसार नेपालमा ७३ लाख बालबालिका खडेरीको जोखिममा छन् । यसबाट खानेपानी, जीविकोपार्जन, कृषि उत्पादन र पोषणमा असर पर्ने देखिएको छ । यस्तै, ५७ लाख बालबालिका अत्यधिक गर्मीको जोखिममा छन् भने २९ लाख बालबालिका वर्षाजन्य पहिरोको जोखिममा रहेका छन् । अत्यधिक गर्मीले बालबालिकाको स्वास्थ्य, सिकाइ र दैनिक जीवनमा असर पारिरहेको प्रतिवेदनमा उल्लेख छ ।

जलवायु परिवर्तनले बालबालिकालाई प्रत्यक्ष जोखिममा पार्नुका साथै उनीहरूका लागि आवश्यक आधारभूत सेवामाथि समेत दबाब बढाइरहेको प्रतिवेदनमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *