चम्पादेवीमा खुला वडास्तरीय भलिबल प्रतियोगिता हुँदै, विजेतालाई ३० हजार पुरस्कार

ओखलढुंगा । तिहारको अवसर पारेर ओखलढुंगाको चम्पादेवी गाउँपालिका–३ चिप्लुङमा खुला वडास्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित ‘युथ अफ चम्पादेवी’को आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

आयोजकका अनुसार प्रतियोगिता आगामी २०८३ कात्तिक २१ गतेदेखि २३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता बिहान ९ बजेदेखि सुरू हुने जनाइएको छ ।

प्रतियोगितामा प्रथम हुने टोलीले ३० हजार रुपैयाँ, दोस्रो हुने टोलीले २० हजार रुपैयाँ र तेस्रो हुने टोलीले १० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले ३ हजार रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्नेछ । प्रत्येक टोलीमा सात जना खेलाडी रहने व्यवस्था गरिएको छ । खेलाडीका लागि जर्सी अनिवार्य गरिएको आयोजकले जनाएको छ । खेलाडीहरूको खानपानको व्यवस्था भने सम्बन्धित टोली आफैँले गर्नुपर्नेछ ।

भलिबल खेलको प्रचलित नियमअनुसार प्रतियोगिता सञ्चालन गरिने र कुनै विवाद उत्पन्न भएमा आयोजक तथा रेफ्रीको निर्णय अन्तिम हुने आयोजकले जनाएको छ ।

‘युथ अफ चम्पादेवी’का अध्यक्ष वीरेन्द्र मगरले प्रतियोगितामा सहभागी हुन इच्छुक सम्पूर्ण टोलीलाई सहभागिताका लागि आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *