काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शुक्रबार खेल तालिकामा विश्राम राखिएको छ । तर, शनिबार भने कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई रोमाञ्चक खेल हुँदैछन् ।
आजको मौसमसमेत प्रतिकूल देखिएकाले क्रिकेट समर्थकका लागि मैदानमा खेल हेर्ने प्रतीक्षासँगै मौसमको चासो पनि थपिएको छ ।
शनिबारको पहिलो खेलमा दिउँसो साढे १२ बजे लुम्बिनी लायन्स र चितवन राइनोज भिड्नेछन् । दुवै टोलीले प्रतियोगिताको सुरूवात जितबाट गरेका छन् । लुम्बिनीले उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको थियो भने चितवनले विराटनगर किंग्समाथि ८ रनको रोमाञ्चक जित निकालेको थियो ।
यस्तै, शनिबार साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच दोस्रो खेल हुनेछ । दुई खेल खेलेको सुदूरपश्चिमले एक जित र एक हार बेहोरेको छ भने विराटनगरले अहिलेसम्म जितको खाता खोल्न सकेको छैन ।
शनिबार विराटनगर पहिलो जितको खोजीमा मैदान उत्रिँदा लुम्बिनी र चितवन आफ्नो अपराजित यात्रा कायम राख्ने लक्ष्यमा हुनेछन् । सुदूरपश्चिम पनि अर्को जित निकाल्दै अंकतालिकामा आफ्नो स्थिति बलियो बनाउने दाउमा हुनेछ ।
एनपीएलको तालिकाअनुसार शुक्रबार विश्राम दिन राखिएको हो । शनिबारका दुवै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् ।
