ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा ‘अभिभावक सचेतना’ कार्यक्रमका लागि विनियोजित ८ लाख रुपैयाँ बजेट खर्चमा अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ ।
आर्थिक वर्ष २०८२/०८३ मा विशेष अनुदानअन्तर्गत शिक्षा क्षेत्रको उक्त कार्यक्रम सञ्चालनका क्रममा अनियमितता भएको भन्दै उजुरी परेपछि अख्तियारले गाउँपालिकासँग खर्चको विवरण, प्रमाणित कागजात र आधिकारिक प्रतिक्रिया माग गरेको हो ।
अख्तियारको बर्दिबासस्थित कार्यालयअन्तर्गत अनुसन्धान शाखा ४ (ग) ले २०८३ असोज ८ गते गाउँपालिकालाई पठाएको पत्रमा कार्यक्रम कार्यान्वयनका क्रममा प्राविधिक सहायक रेवती जोशीको नामसमेत उल्लेख गरिएको छ ।
उजुरीमा कार्यक्रमका लागि विनियोजित बजेट कार्यान्वयन गर्दा कार्यक्रममा सहभागी नभएका व्यक्तिहरूको नाम समावेश गरी भ्रमण भत्ता तथा अन्य सुविधा भुक्तानी लिएको आरोप लगाइएको छ । त्यस्तै, आधिकारिक व्यक्तिहरूको कीर्ते दस्तखत गरी नक्कली बिल–भरपाई तथा कागजात तयार पारिएको र त्यसका आधारमा सरकारी रकम भुक्तानी लिइएको विषयसमेत उठाइएको छ ।
त्यतिमात्र होइन, कार्यक्रमका लागि खरिद गरिएका खानपिन तथा चिया–खाजामा स्थानीय बजारदरभन्दा बढी मूल्य कायम गरी नक्कली बिल–भरपाईमार्फत भुक्तानी लिएको र सरकारी रकम हिनामिना तथा दुरूपयोग गरिएको आरोप पनि उजुरीमा समेटिएको छ ।

