पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला

काठमाडाैं । फ्लाई दुबईले यही असोज ७ गतेदेखि सुरू गरेको दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुने आशमा छन् पोखरेली व्यवसायीहरू ।

सुरूमा ६ महिनाका लागि टिकट बुकिङ खुला गरेको फ्लाई दुबईले सन् २०२७ अक्टोबर ३० सम्मलाई बुकिङ खुला गरेपछि उडान नियमित हुनेमा व्यवसायीहरू थप विश्वस्त भएका हुन् ।

फ्लाई नमस्ते ट्राभल्सका सञ्चालक पोमनारायण श्रेष्ठले दुबई–पोखरा–दुबई उडान सुरूआतमै उत्साहजनक रहेपछि फ्लाई दुबईले बुकिङ अवधि बढाएको बताउनुभयाे ।

‘आगामी वर्षसम्मका लागि बुकिङ खुला भएपछि उडान नियमित सञ्चालन हुनेमा विश्वास थप बढेको छ, यो पोखराका पर्यटन व्यवसायीलगायत सबैका लागि सुखद् विषय हो,’ उहाँले भन्रुभयाे ।

चाडबाडको समय भएकाले दुबईबाट पोखरा आउने यात्रूको तुलनामा पोखराबाट दुबई जानेको संख्या केही कम छ । चाडबाडपछि पोखराबाट दुबई जाने यात्रूको संख्या बढ्ने पर्यटन व्यवसायी श्रेष्ठले बताउनुभयाे ।

पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्षसमेत रहनुभएकाे उहाँले फ्लाई दुबईको उडानलाई सफल बनाउन सबैपक्षको सहयोग र सहकार्यको खाँचो रहेको बताउनुभयाे ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोदसिंह रावतले असोज ७ गतेयता मौसम खराबीका कारण फ्लाई दुबईको एउटा उडान रद्द भए पनि अन्य दिन नियमित उडान भइरहेको बताउनुभयाे ।

फ्लाई दुबईको उडान तालिका अनुसार जहाज हरेक दिन साँझ ६:१५ बजे पोखरा अवतरण र साँझ ७:१५ बजे दुबई प्रस्थान गर्दै आएको छ ।

गत सोमबारसम्ममा फ्लाई दुबईको उडानमार्फत तीन हजार ११३ यात्रू दुबईबाट पोखरा आएको र पोखराबाट एक हजार ४२३ यात्रू दुबई प्रस्थान गरेको जनाइएको छ ।

फ्लाई दुबईको उडानलाई प्रभावकारी बनाउन लागिपरेका पोखराका पर्यटन व्यवसायी लगायत सम्बद्ध पक्ष उडान दिगो हुनेमा विश्वस्तसँगै उत्साहित रहेको पाइएको छ ।

टिकट बुकिङ उत्साहजनक रहेपछि टुर्स एण्ड ट्राभल्स व्यवसायीमा पनि उडान नियमित हुनेमा आशा जागेको छ ।

यस उडानबाट आउने यात्रूलाई लक्षित गरी होटल, रेष्टुराले विभिन्न सहुलियत योजना ल्याएका छन् ।

फ्लाई दुबईले हाल १६५ यात्रू क्षमताको बोइङ ७३७ म्याक्स ८ जहाजबाट दुबई–पोखरा–दुबई उडान गर्दै आएको छ ।

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान सुरू गर्ने फ्लाई दुबई पहिलो वायुसेवा कम्पनी हो ।

यसअघि केही वायुसेवा कम्पनीले पोखराबाट अन्तरराष्ट्रिय गन्तव्यमा चार्टर उडान गरेका थिए । फ्लाई दुबईको उडान सुरू भएसँगै दुबईलाई ट्रान्जिट बनाएर विश्वका धेरै मुलुकसँग पोखराको हवाई सञ्जाल विस्तार भएको छ ।

त्यसबाट दीर्घकालिन रूपमा पोखराको पर्यटन, व्यवसाय, रोजगारी र समग्र आर्थिक गतिविधिका महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ ।

सन् २०२३ जनवरीदेखि सञ्चालनमा आएको यस विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको थिएन ।

सरकारले चालु आवको नीति तथा कार्यक्रममा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान सुरू गरेको हो ।

दुबई–पोखरा–दुबई उडानका लागि गत जेठ २५ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको थियो ।

सरकारले अन्तरराष्ट्रिय उडानका लागि वायुसेवा कम्पनीलाई आकर्षित गर्न विमानस्थलमा लाग्ने विभिन्न शुल्कमा छुट दिएको छ ।

विसं २०८५ भदौ मसान्तसम्मका लागि विमानस्थलमा पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिइएको छ ।

यस्तै, ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *