काठमाडौं । इजरायली गैरसरकारी संस्था ‘हिरोज फर लाइफ’का ६० जना स्वयंसेवकले काठमाडौं र ललितपुरका आठवटा सरकारी तथा सार्वजनिक विद्यालयमा स्वयंसेवा कार्यक्रम सम्पन्न गरेका छन् । उनीहरूले डाउन सिन्ड्रोम सोसाइटी नेपालमा समेत दुई दिन सहयोग गरेका छन् ।
शुक्रबार, ९ अक्टोबर २०२६ मा जारी प्रेस विज्ञप्तिअनुसार स्वयंसेवकहरूले विद्यार्थीका लागि सिर्जनात्मक तथा मनोरञ्जनात्मक सिकाइ गतिविधि सञ्चालन गर्नुका साथै विद्यालयमा रङरोगन र कलात्मक भित्तेचित्र निर्माण गरेका थिए । डाउन सिन्ड्रोम सोसाइटी नेपालमा रहेका बालबालिकासँग अन्तरक्रिया गर्नुका साथै संस्थाको परिसरमा रङरोगन तथा मर्मतसम्भारमा पनि सहयोग गरेका थिए ।
स्वयंसेवकहरू दुई समूहमा नेपाल आएका थिए । पहिलो समूहले ४ देखि १७ सेप्टेम्बर र दोस्रो समूहले २८ सेप्टेम्बरदेखि ८ अक्टोबरसम्म कार्यक्रम सञ्चालन गरेको थियो । प्रभात माध्यमिक विद्यालय, हिन्दु विद्यापीठ, शान्ति शिक्षा मन्दिर, किटिनी उच्च माध्यमिक विद्यालय, अन्नपूर्ण माध्यमिक विद्यालय, श्री नारायण जन माध्यमिक विद्यालय, पञ्चायन सेलेस्टियल स्कुल र श्री नन्दी रात्रि माध्यमिक विद्यालयमा कार्यक्रम सञ्चालन गरिएको थियो ।
स्वयंसेवकहरूको बिदाइका अवसरमा नेपालस्थित इजरायली दूतावासकी कार्यवाहक प्रमुख जनान बेबारले उनीहरूको योगदानको प्रशंसा गर्दै स्वयंसेवाले स्थानीय समुदायलाई सहयोग गर्नुका साथै नेपाल र इजरायलबीचको मित्रता थप बलियो बनाएको बताइन् ।
सन् २०१७ देखि नेपालमा स्वयंसेवा गर्दै आएको ‘हिरोज फर लाइफ’ले हरेक वर्ष पुराना विद्यालयमा कार्यक्रमलाई निरन्तरता दिनुका साथै नयाँ विद्यालयलाई समेत समेट्दै आएको छ । विश्वका १८ देशमा सक्रिय यस संस्थाले सैन्य सेवा पूरा गरेपछि यात्रामा निस्कने इजरायली युवाहरूलाई आफू पुगेका समुदायमा योगदान गर्न प्रेरित गर्दै आएको छ ।

