सूचना चुहावटको आरोपमा एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

काठमाडौं । सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई भविष्यमा सरकारी सेवामा समेत अयोग्य हुने गरी बर्खास्त गर्न सिफारिस गरिएको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार सशस्त्र प्रहरीका अर्का एआईजी अञ्जनीकुमार पोखरेल नेतृत्वमा भएको छानबिनपछि दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको हो ।

सिफारिसअनुसार आवश्यक कागजात गृह मन्त्रालयमा तयार भइरहेको स्रोतले जनाएको छ । दाहाललाई सेवाबाट बर्खास्त गर्ने अन्तिम निर्णय भने मन्त्रिपरिषद्बाट हुने व्यवस्था छ ।

दाहाल गत १९ गते निलम्बनमा परेका थिए । उनी पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका ज्वाइँ नाताका हुन् । असोज ११ गते राणा बाँसबारीस्थित निवासबाट पक्राउ परेपछि दाहाल उनलाई भेट्न हिरासतमा पुगेका थिए ।

त्यसअघि नै प्रधानमन्त्री तथा गृहमन्त्रीहरूको व्यक्तिगत गतिविधि र समयतालिकासम्बन्धी सूचना निगरानी तथा चुहावट गरेको आरोप दाहालमाथि लागेको थियो । सोही आरोपमा भएको छानबिनपछि उनलाई बर्खास्त गर्न सिफारिस गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *