पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–२८ माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटनामा पर्दा तीन जनाको मृत्यु भएको छ ।

माझठानाबाट विद्यालयतर्फ आउँदै गरेको बस पोखराको ओख्लेमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परेका १८ जनाको उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

कास्की प्रहरीका सूचना अधिकारी वीरेन्द्र पासवानका अनुसार उद्धार गरिएकामध्ये १६ जना अस्पताल पुगिसकेका छन् भने दुई जना अस्पताल लैजाने क्रममा थिए ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरी र स्थानीयवासीले उद्धार कार्य जारी राखेका थिए ।

बसमा कति जना विद्यार्थी सवार थिए भन्ने यकिन विवरण प्राप्त हुन सकेको छैन । दुर्घटनामा बस नराम्ररी क्षतिग्रस्त भएको छ ।

दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचान तथा घाइतेहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *