त्रिपुरेश्वरमा बस आगजनीमा गम्भीर घाइते चालक लामाको मृत्यु

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसभित्र आगलागी हुँदा गम्भीर घाइते भएका चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु भएको छ ।
बा ५ ख ४२७४ नम्बरको सार्वजनिक बसमा आगलागी हुँदा ९० प्रतिशतभन्दा बढी शरीर जलेका २५ वर्षीय लामाको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालले जनाएको छ ।

मुलपानीदेखि थानकोटतर्फ जाँदै गरेको ऋद्धिसिद्धि यातायातको बसमा आगलागी भएको थियो । आगलागीपछि दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइए पनि गम्भीर घाइते लामाको उपचारका क्रममा ज्यान गएको हो ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–सिस्नेरी स्थायी घर भएका लामा हाल काठमाडौंको कोटेश्वरमा बस्दै आएका थिए । सात भाइमध्ये एक रहेका उनी विगत ६–७ वर्षदेखि सवारी चालकका रूपमा कार्यरत थिए ।
लामाले यसअघि ट्याक्सी र चन्द्रागिरि यातायातमा चालकका रूपमा काम गरेका थिए । उनी पछिल्लो ३–४ महिनादेखि ऋद्धिसिद्धि यातायातमा कार्यरत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *