राहत कोषमा १ लाख २० हजार सहयोग गरेको नक्कली बैंक स्टेटमेन्ट पोस्ट गर्ने रास्वपा नेता पक्राउ

काठमाडौं । बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै नक्कली बैंक स्टेटमेन्ट सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा रामेछापका एक व्यक्ति पक्राउ परेका छन्।

रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसेका ३२ वर्षीय भगवान कार्कीलाई प्रहरीले आज पक्राउ गरेको हो। प्रहरीका अनुसार कार्कीले आफूले राहत कोषमा रकम जम्मा गरेको भन्दै सामाजिक सञ्जालमा बैंक स्टेटमेन्ट पोस्ट गरेको आरोप छ।

पक्राउपछि गरिएको अनुसन्धानका क्रममा कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को गोकुलगंगा गाउँपालिका कार्यसमितिका सहसचिव रहेको खुलेको छ।

कार्की आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न रास्वपाले सञ्चालन गरेको ‘क्याण्डिडेट क्लब’ मा समेत सहभागी भएको बुझिएको छ। सामाजिक सञ्जालमा उनले गरेका पोस्ट तथा गतिविधिबाट पनि उनी रास्वपासँग आबद्ध रहेको देखिएको बताइएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *