तिब्बतबाट ठूलो बाढी प्रवेश, पाँच जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । गृह मन्त्रालयले रसुवाको भोटेकोसी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको जनाउँदै भोटेकोसी र त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयका अनुसार अर्को सूचना नआएसम्म रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोटका नदी तटीय क्षेत्रमा बसोबास गर्ने परिवारहरू उच्च जोखिममा रहेकाले सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ । भोटेकोसी र त्रिशूली नदीको तटीय क्षेत्र मुग्लिनसम्म उच्च जोखिममा रहेको मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले खोज तथा उद्धार आवश्यक भएमा वा कुनै प्रकारको सहायता आवश्यक परेमा टोल फ्रि नम्बर १२३४ मा तुरुन्त सम्पर्क गर्न अनुरोध गरेको छ ।

त्यस्तै, सम्भावित जोखिमलाई मध्यनजर गर्दै पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न तथा आवतजावतमा पूर्ण रोक लगाउन समेत मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयले नदीको बहाव र बाढीको जोखिमलाई ध्यानमा राख्दै नदी किनार तथा तटीय क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन र सम्भव भएसम्म सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *