काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानमाथि दुर्व्यवहार तथा हातपात गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई हाल बानेश्वरमा बस्दै आएका २७ वर्षीय राज कठायत रहेका छन् ।
मंगलबार बानेश्वर क्षेत्रमा ड्युटीमा रहेकी महिला प्रहरी जवानले सडकमा जथाभावी बाटो नकाटी आकाशे पुल प्रयोग गर्न आग्रह गर्नुभएकाे थियाे । सोही विषयलाई लिएर विवाद उत्पन्न भएपछि कठायतले प्रहरी जवानमाथि दुर्व्यवहार गर्दै हातपात गरेको आरोप छ ।
घटना लगत्तै प्रहरीले कठायतलाई नियन्त्रणमा लिएको हो । उनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरीको नियन्त्रणमा राखिएको बताइएको छ ।
सडक सुरक्षाका लागि खटिएका प्रहरीको निर्देशन पालना गर्नुको साटो उल्टै ड्युटीमा रहेकी महिला प्रहरीमाथि हातपात भएको घटनाले प्रहरीमाथि हुने दुर्व्यवहार र कानुन कार्यान्वयनमा चुनौतीबारे प्रश्न उठाएको छ ।
ट्राफिक नियम पालना गराउन आग्रह गर्दा प्रहरीमाथि नै हात उठाउने प्रवृत्तिले सडक अनुशासनसँगै कानुनप्रतिको सम्मानमाथि समेत गम्भीर प्रश्न खडा गरेको छ ।
