अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट, नेपालमा आजदेखि पेट्रोलियम पदार्थको भाउ बढ्यो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तय गरिएको सैन्य आक्रमण रोक्ने घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । ट्रम्पको कूटनीतिक संकेतले तनाव केही हदसम्म कम हुने अपेक्षासहित तेलको मूल्य ४ प्रतिशतसम्म घटेको हो ।

रोयटर्सका अनुसार अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको फ्युचर्स मूल्य ४.०८ डलर अर्थात ४.६४ प्रतिशतले घटेर प्रतिव्यारेल ८३.८५ डलरमा झरेको छ । यसैगरी, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट क्रुडको मूल्य पनि ४.०१ डलर अर्थात ४.७४ प्रतिशतले घटेर प्रतिव्यारेल ८०.६६ डलरमा पुगेको छ ।

यसअघि इरान र अमेरिकाबीच पुनः झडप सुरू हुँदा र ओमान वरपरका ट्यांकरहरूमा आक्रमण हुँदा गत महिना मात्रै यी दुवै किसिमका तेलको मूल्य २० प्रतिशतभन्दा बढीले उकालो लागेको थियो । राष्ट्रपति ट्रम्पले हार्मुज जलडमरू पुनः सञ्चालनमा ल्याउने विषयमा वार्ता अघि बढेको संकेत गर्दै इरानमाथिको आक्रमण स्थगित भएको घोषणा गरेलगत्तै तेलको बजार केही शान्त बनेको छ ।

गत जुलाई ८ मा अमेरिका र इरानबीचको युद्धविराम भंग भई पुनः लडाइँ सुरू भएदेखि नै सामरिक रूपमा अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्ग पूर्णरूपमा अवरूद्ध बन्दै आएको छ । युद्ध सुरू  हुनुअघि यस जलमार्गबाट दैनिक करिब २० लाख ब्यारेल कच्चा तेल आवतजावत हुने गरेको थियो ।

दुई पक्षबीचको युद्धविरामको अवधिमा नौवहन यातायात बढेको थियो र सोही समयमा २०० मिलियन ब्यारेल तेल बजारमा निस्किएको थियो । हाल जलमार्ग अझै पनि समुद्री यातायातका लागि पूर्ण रूपमा बन्द नै रहेको अवस्था छ ।

हार्मुज समुद्री यातायातका लागि अवरूद्ध रहिरहेको अवस्थामा तेल उत्पादक राष्ट्रहरूको संस्था ‘ओपेक प्लस’ले आगामी सेप्टेम्बर महिनादेखि तेल उत्पादन थप बढाउने सहमति जनाएको छ । इरानसँगको युद्धबीच तेल कार्टेलले लगातार छैटौँ पटक उत्पादन वृद्धि गर्ने निर्णय गरेको हो ।

यो नयाँ निर्णयअनुसार समूहले दैनिक उत्पादनमा थप १८८,००० ब्यारेल तेल वृद्धि गर्नेछ। यो वृद्धिसँगै सन् २०२३ मा दैनिक १६.५ लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने गरिएको निर्णयलाई क्रमशः पूर्ण रूपमा फिर्ता लिने प्रतिबद्धता पनि पूरा भएको छ।

यता नेपालमा भने आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको आइतबारको निर्णयअनुसार सोमबार बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाइएको हो ।

नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ । यो वृद्धिसँगै काठमाडौं, पोखरा र दिपायल (तेस्रो वर्ग) मा पेट्रोल र डिजेल दुवैको मूल्य प्रतिलिटर २०० रुपैयाँ पुगेको छ ।

यसअघि यी क्षेत्रमा पेट्रोल १९७ र डिजेल १९५ रुपैयाँमा बिक्री भइरहेको थियो । त्यस्तै, पहिलो र दोस्रो वर्गका क्षेत्रहरूमा पनि सोही अनुपातमा मूल्य समायोजन गरिएको छ ।

निगमले हवाई इन्धन (आन्तरिकतर्फ) मा प्रतिलिटर २० रुपैयाँ वृद्धि गरी नयाँ मूल्य २४९ रुपैयाँ कायम गरेको छ । अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा काठमाडौंका लागि प्रति किलोलिटर १३१ अमेरिकी डलर बढाइएको छ भने पोखरा र भैरहवाको हकमा ‘ब्रेक इभन’ (नाफा नोक्सानरहित) विन्दुमा बिक्री मूल्य तोकिएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रति सिलिन्डर २०६० रुपैयाँमा यथावत राखिएको निगमले जनाएको छ ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट साउन १५ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २०.१९ रुपैयाँ, डिजेलमा ३९.६७ रुपैयाँ र हवाई इन्धनमा १९.०६ रुपैयाँ बढेर आएको थियो । तर, आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै प्राप्त मूल्यवृद्धिको तुलनामा न्यून दरले मात्र मूल्य समायोजन गरिएको निगमको दाबी छ ।

यसरी मूल्य वृद्धि गर्दा पनि निगमलाई पाक्षिक (१५ दिनमा) करिब १ अर्ब ४९ करोड रुपैयाँ घाटा हुने विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *