मधेस प्रदेशमा मानवअधिकार उल्लङ्घनसम्बन्धी ३९ उजुरी दर्ता

जनकपुरधाम । राष्ट्रिय मानवअधिकार आयोगको मधेश प्रदेश कार्यालय जनकपुरधाममा आर्थिक वर्ष २०८२/८३ मा ३९ वटा मानवअधिकार उल्लङ्घनसम्बन्धी उजुरी दर्ता भएका छन् ।

नागरिकका आधारभूत अधिकार, महिला तथा बालअधिकार, जातीय भेदभाव, आर्थिक तथा सामाजिक अधिकार र यातनाविरुद्धका विषयमा उल्लेख्य उजुरी प्राप्त भएको आयोगका प्रमुख बुद्धनारायण सहनी केवटले जानकारी दिनुभयो ।

नागरिक तथा राजनीतिक अधिकार सम्बन्धीको महासन्धिअन्तर्गत १७, घरेलु हिंसा, लैङ्गिक विभेद, शारीरिक तथा मानसिक यातना, सामाजिक बहिष्कार र महिलामाथि हुने हिंसाका सात वटा उजुरी दर्ता भएका छन् ।

त्यसैगरी बालबालिकामाथि हुने तीन, जातीय विभेद, सामाजिक बहिष्कार तथा समान व्यवहार नपाएकाको दुई, स्वास्थ्य, शिक्षा, रोजगारी, खाद्य सुरक्षा, आवास तथा सामाजिक सुरक्षाजस्ता आधारभूत सेवामा पहुँच नपाएका आठ र यातनाविरुद्धको अधिकारसम्बन्धी महासन्धिअन्तर्गत तीनवटा उजुरी दर्ता भएका छन् ।

आर्थिक वर्ष २०८२/८३ मा ११० वटा उजुरीको छानबिन तथा अनुसन्धान सम्पन्न गरी अन्तिम निर्णयका लागि आयोगको केन्द्रीय कार्यालय पठाइएको प्रमुख केवटले जानकारी दिनुभयो ।

आयोगले ३७७ वटा उजुरीको विस्तृत छानबिन तथा अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *