काठमाडौं । इजरायलको केयरगिभर क्षेत्रमा रोजगारीका लागि नेपाली सहायक कामदार छनोट गर्न आयोजित प्रत्यक्ष (लाइभ) चिट्ठा प्रक्रिया बिहीबार सफलतापूर्वक सम्पन्न भएको छ । इजरायलको जेरुशलेमस्थित जनसंख्या तथा अध्यागमन प्राधिकरण (PIBA) कार्यालयमा पारदर्शी र निष्पक्ष रूपमा सम्पन्न भएको उक्त कार्यक्रम नेपालबाट समेत प्रत्यक्ष प्रसारण गरिएको थियो ।
चिट्ठा प्रक्रियामा सहभागि कुल १,११५ जना उम्मेदवार छनोट भएका थिए, जसमा ७८४ पुरुष र ३३१ महिला रहेका थिए । प्रत्येक समूहबाट ७५ प्रतिशतका दरले छनोट गर्दा कुल ८३६ जना उम्मेदवार अन्तिम छनोटमा परेका छन् ।

कार्यक्रममा नेपालका लागि इजरायली राजदूत शमुलिक एरी बास, नेपाल सरकारको वैदेशिक रोजगार विभागका अधिकारी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
प्रत्यक्ष प्रसारणमार्फत सम्पूर्ण प्रक्रिया सार्वजनिक रूपमा अवलोकन गरिएकाले छनोट प्रक्रियाको पारदर्शिता र विश्वसनीयता सुनिश्चित भएको छ ।
निकट भविष्यमा २,१०० भन्दा बढी थप रोजगारीका अवसर खुल्ने अपेक्षा
राजदूत बासका अनुसार इजरायलको केयरगिभर क्षेत्रमा निकट भविष्यमा २,१०० भन्दा बढी थप रोजगारीका अवसर खुल्ने अपेक्षा गरिएको छ । साथै, नेपाल र इजरायलबीच ‘होम-बेस्ड केयरगिभिङ’ तथा ‘कृषि क्षेत्रमा कामदार’ सम्बन्धी दुईवटा द्विपक्षीय प्रोटोकल अन्तिम चरणमा पुगेका छन्, जसबाट नेपाली कामदारका लागि थप रोजगारीका अवसर सिर्जना हुने विश्वास व्यक्त गरिएको छ ।

छनोट भएका उम्मेदवारहरूले अब स्वास्थ्य परीक्षण र प्रहरी चारित्रिक प्रमाणपत्र ( Police Criminal Record Verification) लगायत अन्तिम प्रक्रिया पूरा गर्नुपर्नेछ । स्वास्थ्य परीक्षणमा योग्य र कुनै आपराधिक अभिलेख नभएका उम्मेदवारहरूलाई सेप्टेम्बर २०२६ देखि चरणबद्ध रूपमा इजरायल पठाइनेछ । द्विपक्षीय श्रम सम्झौताअनुसार उनीहरूले इजरायली कामदारसरह न्यूनतम तलब र श्रम सुविधा प्राप्त गर्नेछन् ।
नेपाल–इजरायल श्रम सहकार्यअन्तर्गत सम्पन्न भएको यो छनोट प्रक्रिया दुई देशबीचको श्रम सम्बन्धलाई थप मजबुत बनाउने अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । दुवै देशले आगामी दिनमा पनि पारदर्शिता, निष्पक्षता र समान अवसरका सिद्धान्तलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
चिट्ठा प्रक्रियाका लागि कुल सहभागि कुल १,१४० जना उम्मेदवारको सुची इजरायल पठाइएको थियो ।
