नुवाकोटको कार दुर्घटनामा एक जनाको मृत्यु

नुवाकोट । बिहीबार साँझ नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गम्भीर घाइते भएका दुई जनाको काठमाडौंमा उपचार भइरहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी निरीक्षक विनोद ढकालका अनुसार छहरे–टोखा सडकखण्डस्थित शिवपुरी गाउँपालिका–६ गुर्जेभञ्याङमा जिप दुर्घटनामा परेर गम्भीर घाइते भएका सिराहा सुखीपुरी–२ का ३५ वर्षीय सञ्जीवकुमार चौधरीको मृत्यु भएको हो ।

उहाँलाई उपचारका लागि काठमाडौंस्थित ग्राण्डी अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत्यु भएको जानकारी दिनुभएकाे थियाे । साथमा रहेको सवारी चालक अनुमतिपत्रका आधारमा उहाँको सनाखत गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते हुनुभएकाे सुनसरीको इनरुवा नगरपालिका–५ का ४० वर्षीय उत्सव पोखरेल र काठमाडाैं महानगरपालिका–९ गौरीघाटका ४४ वर्षीय लोकेश मिश्रको ग्राण्डी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिनुभयाे ।

उहाँका अनुसार ढिकुरेबाट काठमाडौं जाँदै गरेको बिएई ०५६९ नम्बरको विद्युतीय कार छहरे–टोखा सडकखण्डस्थित शिवपुरी गाउँपालिका–६ गुर्जेभञ्याङ नजिकै अनियन्त्रित भएर सडकबाट करिब १५० मिटर तल खसेको थियो ।

स्थानीयवासीको सहयोगमा प्रहरीले जङ्गल क्षेत्र र अँध्यारो अवस्थाका बाबजुद शीघ्र उद्धार गरेर घाइतेलाई उपचारका लागि काठमाडौं पठाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *