दोलखा । दोलखा जिल्लाको समग्र विकास, समान पहुँच र जनताको जीवनस्तर सुधारका लागि शीतल बस्ती युवा समाजको आयोजनामा आज प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारसमक्ष मागपत्र प्रस्तुत गरेका छ ।
दोलखा जिल्लाका बैतेश्वर गाउँपालिका, तामाकोशी गाउँपालिका लगायत विभिन्न स्थानीय तहका प्रतिनिधि, युवा तथा समुदायको सहभागितामा जडीबुटीस्थित Voice Tech हलमा कार्यक्रम सम्पन्न भएको हो । आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका नेताले निर्वाचित भएपछि संघीय संसद, सरकार तथा सम्बन्धित मन्त्रालयमार्फत यी मागहरू कार्यान्वयन गर्न पहल गर्ने अपेक्षासहित मागपत्र बुझाइएको आयोजकले जनाएका छन् ।
मागहरू यस प्रकार रहेका छन् :
१. संविधानमा लेखिएको दलित हकअधिकारको सुनिश्चितता गर्दै स्थानीय सरकार सञ्चालन ऐनको मर्मअनुसार पालिकामा हुने सबै विकास योजना, बजेट निर्माण तथा कार्यान्वयन प्रक्रियामा दलित समुदायको सहभागिताको व्यवस्थापन गर्न पहल गर्ने, साथै पालिकाका सबै समिति र संरचनामा योजना छनोट तथा बजेट तर्जुमामा दलित समुदाय लगायत स्थानीय नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने र छुवाछुतमुक्त समाज घोषणा गर्न पहल गर्ने ।
२. बैतेश्वर गाउँपालिकामा रहेको परिवर्तनशील कृषि सहकारी संस्थाको पुनःसञ्चालन, पुनःसंरचना र उत्थानका लागि आवश्यक पहल गर्ने ।
३. स्थानीय युवाका लागि सीपमूलक तालिम र रोजगारी सिर्जना कार्यक्रमका लागि पहल । कृषि, पशुपालन र उत्पादन क्षेत्रमा अनुदान, प्रविधि र युवालाई सहुलियत ऋण उपलब्ध गराउन पहल ।
४. प्रत्येक स्वास्थ्य चौकीमा नियमित औषधि र आवश्यक उपकरणको व्यवस्था सुनिश्चित गर्न पहल । सम्भव भएसम्म प्रत्येक गाउँपालिकामा कम्तीमा एक एम्बुलेन्स अनिवार्य गर्न पहल गर्ने ।
५. दोलखा जिल्लाको सदरमुकाम चरिकोट सयौं आन्तरिक तथा बाहिरी पर्यटक आउने जाने मुख्य केन्द्र हो । त्यसैले चरिकोटलाई व्यवस्थित, सफा र सुरक्षित पर्यटकीय सहरका रूपमा विकास गर्न संघीय सरकारबाट विशेष कार्यक्रम ल्याउन पहल गर्ने ।
६. गाउँ तथा स्थानीय तहमा जाने सडक मार्गहरू वर्षातमा नबिग्रने गरी पक्की सडक निर्माण गर्ने, साथै यस्तो स्तरोन्नतिको लागि संघीय बजेटमा समावेश गराउने । नाम्दु क्षेत्रका सडक अस्तव्यस्त रहेका कारण उक्त समस्या समाधानका लागि बजेट विनियोजन सुनिश्चित गर्न पहल गर्ने ।
७. सरकारी विद्यालयमा शिक्षाकाे गुणस्तर सुधार, डिजिटल शिक्षा कार्यक्रम विस्तार गर्न तथा सिपमूलक शिक्षाकाे सुरूवात गर्न पहल गर्ने ।
८. हरेक गाउँ/गाउँको कुनै एक सार्वजनिक स्थलमा वृद्ध अवस्था भएका बाआमाहरू जमघट भई बस्न सक्ने आकर्षक पार्क निर्माण गर्ने र इन्टरनेट सेवा विस्तार गरी ग्रामीण क्षेत्रको पूर्वधारको रूपमा अघि बढाउन पहल ।
९. धार्मिक स्वतन्त्रता सुनिश्चित गर्दै, क्रिश्चियन समुदायका लागि उचित दफन स्थलको व्यवस्थापन काे लागि पहल गर्ने ।
१०. दोलखाका मुख्य सडक तथा जिर्ण पुलहरूलाई प्राथमिकतामा राख्न संसद र सरकारमा निरन्तर दबाब।
कार्यक्रममा सहभागी स्थानीयवासी तथा युवाहरूले यी मागहरू कुनै व्यक्ति वा समूह विशेषका लागि नभई दोलखा जिल्लाको दीर्घकालीन विकास, समान पहुँच र जनताको जीवनस्तर सुधारका लागि भएको बताएका छन् ।
दोलखा विकासमा उम्मेदवारको प्रतिबद्धता
उम्मेदवारहरूले उल्लेखित मागहरू निर्वाचित भएपछि संघीय संसद प्रतिनिधि सभामा प्राथमिकताका साथ उठान गर्ने, संघीय सरकार तथा सम्बन्धित मन्त्रालयसँग नीतिगत, बजेट र कार्यान्वयन तहमा पहल गर्ने र यी सबै विषयवस्तुमा जनता सामु उत्तरदायी रहने प्रतिबद्धता राखेका छन् ।
