निर्वाचन ७४ दिन बाँकी: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति बिना कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ ।

अनुमति पाएको सवारीसाधनबाहेक अन्य सवारीसाधन प्रयोग गरी निर्वाचन प्रचारप्रसार गर्न वा प्रचार सामग्री प्रदर्शन गर्न नपाइने व्यवस्था गरिएको छ ।

अनुमति नलिई सवारीसाधन प्रयोग गरेमा त्यस्ता सवारीलाई नियन्त्रणमा लिई कारबाही गरिनेछ । ट्राफिक प्रहरी वा अन्य सुरक्षाकर्मीले त्यस्तो सवारीसाधन नियन्त्रणमा लिई सोको जानकारी जिल्ला आचारसंहिता अनुगमन समितिलाई गराउनुपर्ने व्यवस्था गरिएको छ ।

निर्वाचन अधिकृतको अनुमति लिई सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा आयोगले तोकेबमोजिम बढीमा दुईवटा दुईपाङ्ग्रे वा तीनपाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने सवारीसाधन प्रयोग गर्न सकिनेछ । सवारीसाधन नचल्ने स्थानमा चारवटा घोडा प्रयोग गर्न सकिनेछ ।

विदेशी नम्बर प्लेटका सवारीसाधन भने प्रयोग गर्न नपाइने र कुनै पनि अनुमति नदिइने प्रस्तावित आचारसंहितामा उल्लेख छ । राजनीतिक दलले प्रक्रिया पूरा गरी सोहीबमोजिमको सङ्ख्या र प्रकारका सवारीसाधन प्रयोग गर्न सक्नेछन् । सवारीसाधनको स्वरूप परिवर्तन गरी प्रयोग गर्न वा गराउन वर्जित गरिएको छ ।

अनुमति प्राप्त गरेको सवारीसाधन अन्य दल वा उम्मेदवारलाई प्रयोग गर्न दिन वा अन्य उम्मेदवारले प्रयोग गर्न पाउने छैनन् । प्रस्तावित आचारसंहिताअनुसार कुनै पनि दल वा उम्मेदवारले अनुमति लिएको सवारीसाधन प्रयोग गरी मतदाता ओसारपसार गर्न पाउने छैनन् । हिँडडुल गर्न नसक्ने गर्भवती महिला, सुत्केरी, साथमा आफ्नै बच्चा बोकेकी महिला, क्रियापुत्री, शारीरिक रूपले असक्तता वा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकजस्ता मतदाताका हकमा निर्वाचन अधिकृतले अनुमति दिएको खण्डमा भने सवारीसाधन प्रयोग गर्न बाधा नपर्ने उल्लेख छ ।

राजनीतिक दलले प्रचारप्रसारका लागि आफ्नोतर्फबाट मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले हेलिकप्टर प्रयोग गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *