काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा पहिरो र लेदोको कारण सवारी आवागमन पूर्णरूपमा अवरूद्ध भएको छ ।
राजमार्गको अवरोध हटाएर सडक सञ्चालन गर्न समय लाग्ने भएकाले पूर्व जाने गाडीहरू काभ्रेपलाञ्चोकको भकुन्डेमा रोकिएका छन् ।
अविरल वर्षाका कारण बीपी राजमार्ग अन्तरगत चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा पहिरो खसेर सडक अवरूद्ध भएको प्रहरीले जनाएको छ ।
यसैगरी नार्के, पिन्थलीबेसी, विरूवाडाँडा लगायतका स्थानमा पनि लेदोका कारण राजमार्ग पूर्णरूपमा अवरूद्ध छ ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार चौकीडाँडामा खसेको पहिरो पन्छाउन लाग्दा पुन: माथिबाट पहिरो खसेको छ । पानी परिरहेकाले जोखिम बढेको भन्दै हाल पहिरो पन्छाउन रोकिएको छ ।
