सन्तोष रूचाल, धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाका पाँच घर परिवारलाई जग्गा धनी पुर्जा वितरण गरिएको छ । भूमिहिन सुकुम्बासी पाँच परिवारलाई पुर्जा वितरण गरिएको हो ।
भूमि समस्या समाधान आयोग जिल्ला समिति धनकुटा र साँगुरीगढी गाउँपालिकाले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरी भूमिहिन सुकुम्वासी परिवारलाई पुर्जा गरेको हो ।
पूर्वमन्त्री तथा धनकुटाका संघीय सांसद राजेन्द्रकुमार राई, कोशी प्रदेशसभा सदस्य निरन राई, साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई, भूमि समस्या समाधान आयोग जिल्ला समिति धनकुटाका अध्यक्ष देवमान राई लगायतले संयुक्त रूपमा जग्गाधनी लालपुर्जा वितरण गर्नुभएको थियो ।
जग्गाधनी लालपुर्जा पाउनेमा साँगुरीगढी गाउँपालिका–३ खुवाफोक कुसेटारका सुनेत्र माझी, आइतमाया माझी, कञ्चन माझी रहनुभएको छ । त्यस्तै वडा नं. ९ का दुर्गावहादुर राई र ७ नं. वडाका विष्णुकुमार राई रहेको भूमि समस्या समाधान आयोग धनकुटाका सदस्य विजयसन्तोषी राईले बताउनुभयो । उहाँरू वर्षौदेखि जग्गा उपभोग गरेर वसेपनि पुर्जा नहुँदा भूमिहिन हुनुहुन्थियो । पुर्जा प्राप्त गर्दा उहाँहरू खुसी हुनुभएको छ ।
