बागलुङ । बागलुङको जैमिनी नगरपालिका–५ की बिना थापाको हिजोआजको दैनिकी बाँदर धपाउँदै बित्छ । मकै बारी छेउमा घामपानी छेक्नलाई सानो छाप्रो बनाइएको छ । त्यही छाप्रोमा थापाको दिन बित्ने गरेको छ । थापाका साथमा एउटा लट्ठी, थाल र केही काठका टुक्राहरू हुन्छन् । बेलाबेला उहाँ थाल बजाउँदै चिच्याउनुहुन्छ । यसरी चिच्याउँदा बाँदर बारीमा नआउने उहाँ बताउनुहुन्छ ।
“यो थाल र लौरो त मेरो साथमा सधैँ हुन्छ, यहाँ थाल बजाएर हल्ला गर्यो भने बाँदर बारीमा आएर मकै खान्न, शान्त भएर बस्यो भने एक छिनमा ५०/६० वटा बाँदरको समूह आएर मकै एक छिनमा सखाप पार्छ”, थापाले भन्नुभयाे, “यति बेला मकैले कोसा हाल्न थालेको छ, बाँदर पस्यो भने त केही बाँकी राख्दैन, सबै च्यातेर नष्ट गरिदिन्छ ।”
अब मकै नभित्र्याउँदासम्म बारीमै बास हुने उहाँले बताउनुभयाे । एक दशक अगाडिसम्म गाउँमा बाँदर फाटफुट आए पनि हालको जस्तो हुल नै नआएको थापाले स्मरण गर्नुभयाे । बारीमा गोठालो नबस्ने हो भने गाउँभरिको बारी एक दिनमै सखाप पार्ने अवस्था छ । बाँदर धपाउनका लागि अनेक जुक्ति अपनाए पनि त्यसले काम नगरेपछि हाल दैनिक बारीमै बस्ने गरेको थापाले सुनाउनुभयाे ।
बिना जस्तै स्थानीय कुलबहादुर थापाले पनि आफ्नो दिन पनि बाँदर धपाउनैमा बित्ने गरेको बताउनुभयाे । खाना खान पनि पालो गरी खानुपर्ने अवस्था रहेको उहाँले सुनाउनुभयाे । “परिवारमा धेरै सदस्य हुनेलाई सहज भए पनि थोरै हुनेलाई गाह्रो छ । बाँदरका कारण हरेक वर्ष उत्पादन घट्ने गरेको छ । हामीलाई बाँदरले धेरै दुःख दियो । पहिले १२/१५ मुरी मकै फल्थ्यो, हाल बाँदरबाट जोगाउन सकियो भने पाँच/सात मुरी भित्र्याउने गरेको छु”, थापाले भन्रुभयाे ।
हाल जिल्लाका अधिकांश किसानको बारी छेउछाउमा ससाना त्रिपालका छाप्रा देखिन्छन् । छाप्रामा दैनिक एक–दुई जना बाँदर धपाउने कृषक पनि हुन्छन् । बाँदरका कारण गाउँका धेरै स्थानीयले बसाइसराइ गर्न बाध्य भएको सुनाउँछन् । जैमिनीमा बाँदर आतङ्क बढ्नुको मुख्य कारण बसाइसराइ रहेको नगर उपप्रमुख हरिहर शर्माले बताउनुभयाे । आफूहरूले बाँदर नियन्त्रणका लागि अघिल्लो वर्षदेखि नै बाँदर पार्क बनाउने गरी योजना बनाएको उहाँले जानकारी दिनुभयाे । अब बाँदरबाट प्रभावित किसानलाई पनि राहत दिने गरी योजना बनाइने उपप्रमुख शर्माले सुनाउनुभयाे ।
काठेखोला गाउँपालिका–१ का नरबहादुर पुनले बर्खामा मात्रै नभएर हिउँदमा पनि बाँदरले दुःख दिने गरेको बताउनुभयाे । घरको आँटीमै पुगेर अन्न खाइदिने र सामान फुटाइदिने गरेको उहाँको दुखेसो छ । हाल बाँदर मान्छेसँग पनि डराउन छोडेका पुनले सुनाउनुभयाे । “पहिले बाँदर मान्छे देख्यो भने भागिहाल्थ्यो, हाल त उस्तै परे कोपार्न र लड्न आउँछन् । गाउँमा मान्छेभन्दा बाँदरको सङ्ख्या धेरै हुन थाले, छरछिमेकी पनि अब गाउँमा बस्न सकिँदैन भन्दै सहर बजार झरे । हाम्रो बजार झर्ने धन पनि छैन, यहीँ बाँदरसँग लड्दै बस्नुबाहेक अरू विकल्प छैन”, उहाँले भन्रुभयाे ।
जैमिनीबाट पछिल्लो दुई वर्षमा मात्रै ४८२ परिवारका एक हजार ७०९ जनाले गाउँ छोडेका छन् । तथ्याङ्कअनुसार विसं २०८० मा २६३ परिवारका ९४७ जनाले बसाइसराइ गरेका छन् भने २०८१ मा २१९ परिवारबाट ७६२ जनाले गाउँ छोडेका छन् । दुई वर्षको अवधिमा २६ घरपरिवारका ८६ जना बाहिरबाट जैमिनी आएको नगरपालिकाले जनाएको छ । यस्तै, विसं २०८० मा नौ परिवारका ४२ जना र २०८१ मा १७ परिवारका ४४ जना जैमिनी आएका छन् ।
