धनकुटाको विभिन्न स्थानबाट ४३ केजी लागु औषध गाँजा सहित चार जना पक्राउ

सन्तोष रूचाल, धनकुटा । धनकुटाको विभिन्न स्थानबाट ४३ केजी लागु औषध गाँजा सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । लागु औषध गाँजा सहित पक्राउ पर्नेमा धनकुटा नगरपालिका–९ का ५१ वर्षीय राजु राई, सहिदभूमि गाउँपालिका–२ का २२ वर्षीय सन्तोष दर्जी, मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका–१० का २६ वर्षीय जयराम सरदार र १८ वर्षीय सुदिप सरदार रहेको प्रहरीले बताएको छ ।

राईलाई धनकुटा नगरपालिका–९ मुलघाटस्थित कोशी लोकमार्गमा साप्तिनटारबाट धरानतर्फ पैदलयात्रा मार्फत जादै गर्दा विहिवार २८ केजी गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओमप्रकाश खनालले बताउनुभयो । तमोर नदीको पुलमा गाडी पर्खिरहेका राईलाई प्रहरी चौकी मुलघाटबाट गस्तीमा खटिएको प्रहरीले शंका लागेर चेकजाँच गर्ने क्रममा कार्टुनमा प्याक गरेर लैजादै गरेको गाँजा प्रहरीले फेला पारेको थियो ।

त्यस्तै साँगुरीगढी गाउँपालिका–६ भेडेटारचोकमा संखुवासभाबाट झापाको दमकतर्फ जादै गरेको प्रदेश नम्बर १–०२–००१ ज ४६५९ नम्बरको इभी गाडीमा प्रहरीले चेकजाँच गर्ने क्रममा हेण्डव्यागमा १२ केजी गाँजा सहित दर्जीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ भने अर्को इभी गाडी प्रदेश नम्बर १–०२–००१ ज ४६५९ नम्बरलाई चेकजाँच गर्ने क्रममा हेण्डव्यागमा करिब ३ केजी लागु औषध गाँजा सहित सरदारद्धयलाई पक्राउ गरिएको डिएसपी खनालले बताउनुभयो । पक्राउ गरेका चारै जनालाई लागु औषध कारोबार सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले बताएको छ । पछिल्लो समयमा धनकुटाबाट लागु औषध ओसार पसारको आरोपमा दैनिक जसो विभिन्न व्यक्तिहरू पक्राउ पर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *