काठमाडौं । आइतबार काठमाडौंमा भएको झडपपछि शिक्षकहरूले आफ्नो आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय गरेका छन् ।
आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आफ्ना शिक्षक तथा कर्मचारीमाथि भएको ज्यादतीको घोर विरोध गर्दै व्यापक प्रतिकार गर्ने घोषणा गरेको हो ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले एक विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षक-कर्मचारीमाथि गरिएको अमानवीय दमनको निन्दा गर्दै सबै पेसागत संस्था, आम शिक्षा सरोकार समूह तथा सम्पूर्ण नेपाली नागरिकहरूलाई समर्थनका लागि अपिल गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ, “नेपाली शिक्षक-कर्मचारीहरू अग्रगामी विद्यालय शिक्षा ऐन नआएसम्म आफ्ना कार्यक्षेत्रमा फर्कने छैनन् । सम्पूर्ण शिक्षक तथा कर्मचारी साथीहरूलाई काठमाडौं आइ आन्दोलनमा सहभागी भई अन्यायको प्रतिकार गर्न जोडदार आग्रह गर्दछौँ ।”
महासंघले आरोप लगाएको छ कि आइतबारको शान्तिपूर्ण आन्दोलनमा सरकारले संरक्षण गरेका केही समूहले ढुङ्गामुढा गरी स्थिति अस्थिर बनाएपछि सुरक्षाकर्मीहरूले शिक्षक-कर्मचारीमाथि पानीको फोहरा, ढुङ्गा प्रहार र निर्मम लाठीचार्ज गरेका थिए ।
बानेश्वरमा भएको उक्त झडपमा ६२ जना शिक्षक, कर्मचारी तथा केही सञ्चारकर्मी घाइते भएका छन्, जसमा झन्डै एक दर्जनको अवस्था चिन्ताजनक रहेको महासंघले जनाएको छ ।
अध्यक्ष सुवेदीले घाइते सबै साथीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सरकारसँग घाइतेहरूको उपचार खर्च व्यहोर्न माग गर्नुभएको छ । साथै, सरकारले प्रदर्शनमाथि गरेको अमानवीय व्यवहारप्रति महासंघले कडा शब्दमा निन्दा र भर्त्सना गरेको छ ।
विद्यालय शिक्षाको सुधार र शिक्षक-कर्मचारीका पेसागत उन्नयनका पक्षमा गत वर्षको माघ २० गतेबाट निरन्तर शान्तिपूर्ण आन्दोलनमा रहेका छन् । शिक्षक-कर्मचारी माथि गरिएको यो अमानवीय आक्रमणबाट सरकारको अलोकतान्त्रिक, दमनकारी तथा शिक्षा विरोधी चरित्र पर्दाफास भएको महासंघले बताएको छ ।

