सन्तोष रूचाल, धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–५ बोधेबाट प्रहरीले आज ९ सय ४६ केजी लागु औषध गाँजा बरामद गरेको छ ।
चौबिसे गाउँपालिका–५ बोधेमा आज विहान ट्रकमा गाँजा लोड भईरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरी टोलीले ट्रकमा लोड गरिएको अवस्थामा उक्त गाँजा बरामद गरेको हो । ना ५ ख ६१५७ नम्बरको ट्रकमा प्लाष्टिकको बोरामा ३८ पोका गाँजा लोड गरिएको अवस्थामा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओमप्रकाश खनालले बताउनुभयो ।
लोड गरिएको अवस्थामा रहेको ट्रक सहित चौबिसे गाउँपालिका–५ बोधेका स्थानीय ४३ वर्षीय मनोज लिम्बूलाई नियन्त्रणमा लिईएको प्रहरीले बताएको छ । ट्रकका चालक फरार रहेकाले उनको खोजतलास भईरहेको छ भने गाँजा बरामद भएसँगै कहाँबाट, कसरी गाँजा ल्याएको हो भन्ने विषयमा पनि अनुसन्धान सुरू गरिएको प्रहरीले बताएको छ ।
