काठमाडौं । गणतन्त्र पक्षधर र राजसंस्था पक्षधरले आज काठमाडौंमा छुट्टाछुट्टै प्रदर्शन गर्दै छन् । सम्भावित भिडन्तलाई मध्यनजर गर्दै सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ ।
गणतन्त्र समर्थकहरूको प्रदर्शनको नेतृत्व चार दलीय समाजवादी मोर्चाले गर्नेछ । यस मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, र विप्लव नेतृत्वको नेकपा छन् ।
उनीहरूले भृकुटीमण्डपमा प्रदर्शन आयोजना गर्ने भएका छन् । मोर्चाले बबरमहलबाट माइतीघर, त्रिपुरेश्वर हुँदै प्रदर्शनीमार्गसम्म जुलुस निकाल्ने योजना बनाएको छ । राजधानीका विभिन्न स्थानबाट जुलुस निकालेर भृकुटीमण्डपमा दिउँसो १ बजे सभा गरिनेछ ।
यस्तै, राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समितिले पनि काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरेको छ । नवराज सुवेदी नेतृत्वको समितिले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मिलेर प्रदर्शन गर्न लागेको हो ।
राजावादीहरूले तीनकुने क्षेत्रमा प्रदर्शन गर्नेछन् । प्रशासनले राजावादी समूहलाई रिङरोडभित्र प्रदर्शन गर्न नदिने निर्णय गरेको छ । सरकारले सम्भावित तनावलाई ध्यानमा राख्दै सुरक्षा रणनीति बनाएको छ । गणतन्त्र पक्षधर र राजसंस्था पक्षधरलाई भेट हुन नदिने उद्देश्यले छुट्टाछुट्टै स्थान तोकिएको हो । सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका थप दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिनेछ ।
