अध्ययन कृषि प्राविधिक, इलम स्ट्रबेरीखेती

घोराही । पढाइ कृषि प्राविधिक । व्यवसाय स्ट्रबेरीखेती (भुइँऐसेलु) । पढाइ र काम मिलेपछि कैलालीका किसान दशरथ साउदको घोराहीमा रहेको स्ट्रबेरीखेती फस्टाएको छ । घोराही उपमहानगरपालिका–१५ भरतपुरमा रहेको उहाँको स्ट्रबेरीखेतीमा कपिलवस्तुका भाष्कर पङ्गेनीले साथ दिनुभएकाे छ ।

स्ट्रबेरीखेतीमा प्राविधिक पक्ष साउद आफैंले हेर्नुहुन्छ । तीन वर्षअघि स्ट्रबेरीखेतीमा होमिएका २६ वर्षे उहाँले गत वर्ष मात्रै १८ लाख बराबरको स्ट्रबेरीको कारोबार भएको बताउनुभयाे ।

‘गतवर्ष ११ लाख त बचत नै भयो’, उहाँले भन्रुभयाे, ‘अहिले दैनिक ७० किलोभन्दा बढी बिक्री भइरहेको छ ।’ उहाँका अनुसार यस वर्ष हालसम्म चार लाखभन्दा बढी स्ट्रबेरी बिक्री भइसकेको छ ।

साउदले १५ कट्ठा जग्गा भाडामा लिएर स्ट्रबेरीखेती गर्नुभएकाे छ । उहाँले स्ट्रबेरी प्रतिकिलो खुद्रामा सात सय र थोकमा पाँच सय रुपैयाँमा बिक्री भइरहेको बताउनुभयाे ।

स्ट्रबेरी दाङसहित बुटवल, नेपालगञ्ज र धनगढीलगायत ठाउँमा पठाउने गरेको उहाँको भनाइ छ । उहाँले भन्रुभयाे, ‘कृषि प्रविधिसँग सम्बन्धित विषय अध्ययन गरेपछि यसैमा केही गरौं भन्ने सोचले कृषि फार्म स्थापना गरी स्ट्रबेरीखेती सुरू गरेको हुँ, अहिले यसैबाट राम्रो आम्दानी भइरहेको छ ।’

परम्परागत कृषिमा प्रविधिको प्रयोगले सफलता मिलेको उहाँले बताउनुभयाे । घोराहीमा मात्रै होइन, साउदले कपिलवस्तुमा १२ कट्ठामा र कैलालीमा १० कट्ठामा पनि व्यावसायिक रूपमा स्ट्रबेरीखेती गर्दै आएका छन् ।

स्ट्रबेरी फल स्वादिलोसँगै पौष्टिक गुणले पनि राम्रो फल मानिने र बिक्रीका लागि समस्या नहुने साउदको बुझाइ छ । उहाँले भन्रुभयाे, ‘सुरूमा बिरूवा ल्याउँदा, सिँचाइलगायतमा रु सात लाख बढी खर्च भएको छ । भदौको अन्तिमतिर रोपेका बिरूवाले अहिले उत्पादन दिएको छ, बजारका लागि पनि कुनै समस्या छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *