सरकारी अस्पतालले अब पनि औषधि छैन भन्नु गैरकानुनी हो: मन्त्री पौडेल

इलाम ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बिमाको औषधि छैन भन्न नपाइने बताउनुभएकाे छ । इलाम अस्पतालको आज अनुगमन गर्दै उहाँले स्वास्थ्य बिमा बोर्डले तोकिएका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताउनुभयाे ।

उहाँले भन्रुभयाे, ‘अब पनि औषधि छैन भन्नु गैरकानुनी हो । सरकारी अस्पतालमा स्वास्थ्य बीमा बोर्डले निर्धारण गरेका औषधि उपलब्ध हुनैपर्छ ।’

उहाँले तोकिएका औषधि अनिवार्य राख्नुपर्ने बताउनुभयाे । सरकार तथा स्वास्थ्य बिमा बोर्डले ९८ प्रकारका औषधि तोकेको छ । तोकिएका औषधि अनिवार्य राख्न उहाँले आग्रह समेत गर्नुभयाे ।

मन्त्री पौडेलले चिकित्सकले लेखेका औषधि छैन भनेर पन्छिने छुट अब सरकारी अस्पताललाई नभएको उहाँको भनाइ छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक काम अगाडि बढाएको उहाँको भनाइ छ । बिमाका केही व्यवस्थापनमा समस्या भए पनि यसलाई सुधार गर्न लागेको उहाँको भनाइ छ ।

जिल्ला अस्पतालको स्तरोन्नति गर्न स्वास्थ्य मन्त्रालयका काम अगाडि बढाउनेसमेत उहाँको भनाइ छ । इलाम अस्पतालका प्रमुख डा प्रभु शाहले दरबन्दीअनुसार चिकित्सक नभएको गुनासो गर्नुभयाे । सो विषयमा स्वास्थ्यमन्त्री पौडेलले सुगममा चिकित्सक बस्न  रूचाउने गरेको बताउनुभयाे ।

अब सरकारले जहाँ खटाएको छ सोही ठाउँमा जानुपर्ने अनिवार्य व्यवस्था गरिने पनि उहाँले बताउनुभयाे । अहिले पनि तराईका अस्पतालमा दरबन्दीभन्दा दोब्बर डाक्टर रहने गरेको भन्दै उहाँले अब सरकारले खटाएकै ठाउँमा चिकित्सकलाई बस्ने गरी व्यवस्था मिलाउने बताउनुभयाे ।

अस्पताल तथा स्वास्थ्य चौकीहरूले समेत आफूले गर्न सक्ने मात्र काम गर्नेगरी मन्त्रालयमा माग गर्नुपर्ने बताउनुभयाे । पूर्वाधार र औजारका विषयमा समेत जिल्ला अस्पतालले माग गर्नुपर्ने उहाँको भनाइ छ । आवश्यकतानुसार माग भए सम्बोधन गर्न सकिने उहाँको भनाइ छ । स्वास्थ्य चौकीमा एमआरआई र सिटी माग्दा हाल सम्बोधन गर्न नसकिने भन्दै उहाँले आवश्यकतानुसार माग हुनुपर्ने उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *