काठमाडौं । नेपालस्थित इजरायली दूतावास र नेपाल-इजरायल चेम्बर अफ कमर्सले नेपाल र इजरायलका १५ अग्रणी कम्पनीहरूलाई एकसाथ भेला गर्दै भर्चुअल व्यापार बैठक सफलतापूर्वक सम्पन्न भएको छ ।
कृषि क्षेत्रमा व्यावसायिक सहकार्यलाई प्रवर्द्धन गर्नु र दुई राष्ट्रहरू बीच ज्ञान र आधुनिक कृषि प्रविधिको आदानप्रदानलाई सहजीकरण गर्नु बैठकको प्रमुख उद्देश्य थियो।
बैठकको क्रममा, इजरायली कम्पनीहरूले नेपाली कम्पनीहरूलाई मूल्याङ्कनको लागि प्रस्तुतीकरणहरू देखाएका थिए, त्यसपछि द्विपक्षीय व्यवसायलाई प्रवर्द्धन गर्ने तरिकाहरूमा बैठकमा छलफल भएको दूतावासले जनएको छ ।
बैठक मार्फत भएका सहयोगी प्रयासहरूले दीर्घकालीन साझेदारी सिर्जना गर्ने लक्ष्य राखेका छन्, जसले पारस्परिक वृद्धि सुनिश्चित गर्ने अपेक्षा लिइएको छ ।
नेपाल र इजरायलबीचको बलियो कुटनीतिक र राजनीतिक सम्बन्ध बलियो आर्थिक साझेदारीसँगै जानुपर्ने बैठकको निष्कर्ष थियो । भर्चुअल बैठकले कृषि-सहकार्यको लागि आधार तयार पारेको छ जसले नेपाली र इजरायली दुवै कम्पनीहरूलाई फाइदा पुर्याउनेछ ।
उक्त बैठकले दुवै राष्ट्रहरूको आर्थिक सम्बन्धलाई सुदृढ पार्ने र कृषि क्षेत्रलाई अगाडि बढाउने दिशामा महत्त्वपूर्ण कदम चालेको छ। व्यावसायिक संलग्नतालाई अझ विस्तार गर्न निकट भविष्यमा थप भर्चुअल बैठक आयोजना गरिने दूताबासले जनाएको छ ।
