बागलुङ । परियार समुदायको पुर्ख्यौली पेसाका रूपमा पन्चैबाजा हिजोआज अन्य समुदायले पनि बजाउन थालेका छन् । गाउँ तथा सहरमा बिस्तारै पन्चैबाजा बचाउने प्रचलन हराउन थालेपछि बागलुङमा महिला र मगर समुदायका युवाले संरक्षणमा चासो दिएका हुन् ।
युवा शक्ति विदेश पलायन भएपछि सङ्कटमा पर्न थालेको पन्चैबाजा बजाउने प्रचलन पछिल्लो समय संरक्षण भइरहेको छ । अहिले यहाँका महिला समूहले समेत बाजा बजाउन थालेका छन् ।
पन्चैबाजा बजाउने चलन लोप हुन थालेपछि महिलाहरू यसको संरक्षणमा लागेको बागलुङ नगरपालिका–३ देउरालीचोक आमा समूहकी अध्यक्ष सरिता थापा मगरले बताउनुभयाे । विवाह, व्रतबन्ध र अन्य सार्वजनिक कार्यक्रममा बाजा बजाउने कोही नहुँदा आफूहरूले बजाउन थालेको उहाँको भनाइ छ । पहिले गाउँमा धेरै समूहले बाजा बजाए पनि अहिले कोही नभएको उहाँँले उल्लेख गर्नुभयाे ।
थापाले भन्नुभयाे, “अहिले बाजा बजाउने जनशक्ति पाउनै मुस्किल छ, नयाँ पुस्ता विद्यालय सकाएपछि विदेश नै जान हतारिन्छन्, बुढापाकाले बजाउन सक्दैनन्, टोल छिमेकमा कसैको बिहे, व्रतबन्ध, पास्नी हुँदा बाजा बजाउनै छोडेको हुँदा दिदीबहिनीहरू मिलेर पन्चैबाजा बजाउन थालेका हौँ, सुरूमा सिक्न केही समय लाग्यो अहिले सबैले सिकेपछि ठाउँ–ठाउँमा बजाउन जाने गरेका छौँ ।”
दुई वर्ष अगाडिदेखि बाजा बजाउन सिकेका महिलाहरूले अहिले यसैबाट आम्दानीसमेत गर्न थालेका छन् । सुरूमा गाउँका पन्चैबाजा समूहबाट सिकेका उनीहरूले रु एक लाख ५० हजारमा बाजा सेट खरिद गरेर व्यावसायिक रूपमा बजाउन थालेका हुन् ।
एउटा विवाहबाट रु ३० हजारदेखि ५० हजारसम्म लिने गरेको पन्चैबाजा समूहकी सदस्य कला श्रीसले जानकारी दिनुभयाे । विवाहको याममा बागलुङका ग्रामीण क्षेत्रदेखि ठुला–ठुला सहरसम्म बाजा बजाउन जाने गरेको उहाँको भनाइ छ ।
“सुरूमा बाजाको ताल सिक्न केही समय लाग्यो, अहिले ५० जनाभन्दा बढी दिदीबहिनीहरूले पन्चैबाजा बजाउने गर्छौं”, उहाँले भन्नुभयाे, “अब सिक्न चाहनेलाई पनि सिकाउन सकिन्छ, हामीलाई मङ्सिर र माघमा भ्याइनभ्याइ हुन्छ, यसबाट हाम्रो आम्दानी पनि राम्रो भएको छ ।”
