काठमाडौं । उमेरले ५५ वर्ष टेकिसक्दा पनि कीर्तिपुरकी पार्वती महर्जनको जोश र जाँगरमा कुनै कमी आएको छन । घरदैलो कार्यक्रम गर्दै सुरक्षित मातृत्व, नवजात शिशु सरसफाइ, खोप तथा पोषण कार्यक्रमबारे जनचेतना फैलाउनु उहाँको मुख्य काम हो ।
कीर्तिपुर नगरपालिका–५ कि महर्जन विगत ३६ वर्षदेखि स्वास्थ्य सचेतना फैलाउने काममा सक्रिय हुनुहुन्छ । उहाँ अहिले सर्वसाधारण पनि स्वास्थ्यप्रति चनाखो हुन थालेको बताउनुहुन्छ । तर हात्तीपाइले रोगविरूद्धको औषधि खुवाउन अझै पनि धौधौ पर्ने गरेको उहाँको अनुभव छ ।
महर्जन सरकारले स्वास्थ्य स्वयंसेविकालाई हेर्ने धारणा परिवर्तन हुनुपर्ने उहाँको माग छ । ‘अरू जागिर भएको भए अहिलेसम्म त पेन्सन पाकिसक्थ्यो होला । हाम्रो पनि भत्ता बढाइदिएको भए हुन्थ्यो,’ उहाँले भन्नुभयाे ।
श्रेष्ठ टोखा नगरपालिका–४ कि ४७ वर्षीया हिरामाया २०५२ सालदेखि स्वास्थ्य स्वयंसेविकाका रूपमा कार्यरत हुनुहुन्छ । उहाँले सरकारले आफूहरूले पाउने सुविधा बढाउनुपर्ने धारणा राख्नुभयाे । ‘सरकारले हामीलाई सार्वजनिक यातायातमा निःशुल्क भने पनि हालसम्म लागू भएको छैन,’ उहाँले भन्नुभयाे, ‘आज पनि म कामकै लागि आउँदा गाडीमा छुट पाइनँ ।’
चन्द्रागिरी नगरपालिका–१७ की स्वास्थ्य स्वयंसेविका बसन्ती महर्जन आमाको प्रेरणा र सिकाइले नै आफू पनि स्वस्थ्य स्वंयसेविका बनेको बताउनुभयाे । ५३ वर्षीया महर्जन हाल नेपाल स्वास्थ्य स्वयंसेवक संघकी अध्यक्ष हुनुहुन्छ । उहाँले महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्यको खम्बा भनेर उपमा दिइए पनि उनीहरूबारेमा सरकारले ध्यान नदिएको गुनासो गर्नुभयाे । ‘हामी घाम पानी नभनी काम गरेका छौँ । तर पनि खुसी छौँ । हामी आफ्नो कामप्रति रत्तिभर पनि थाकेका छैनौँ तर हाम्रो बारेमा खोइ सोचिएको ?,’ उहाँको प्रश्न छ । महर्जनले स्वयंसेविकालाई दिइने ४ सय रुपैयाँ भत्ता न्यून भएको उल्लेख गर्दै यसलाई बढाउन आवश्यक रहेको धारणा राख्नुभयाे । ‘हामी कति दुःख गरेर काम गरिरहका हुन्छौँ, तर सरकारले सो अनुसारको सुविधा दिन सकेको छैन,’ उहाँले भन्रुभयाे ।आफूहरूलाई पनि योगदानमा आधारित साामाजिक सुरक्षामा समावेश गर्नुपर्ने उहाँको भनाइ छ ।
काठमाडौं महानगरपालिका–१६ कि गीता थिङ पौडेलको पनि भनाइ महर्जनसँग मिल्दोजुल्दो छ । उहाँले पनि स्वास्थ्य स्वयंसेविकाको कामको मूल्याङ्कन हुन नसकेको बताउनुभयाे । ‘हामीलाई जे जिम्मेवारी दिए पनि पूरा गर्छौ, हामीले यसैबाट समाजमा पहिचान पनि बनाएका छौँ, हाम्रो माग सरकारले हाम्रो कामको उचित मूल्याङ्कन गरोस् भन्ने हो,’ उहाँले भन्रुभयाे ।
नेपाल स्वास्थ्य स्वयंसेवी संघकी अध्यक्षसमेत रहेकी पौडेलले स्वास्थ्य स्वयंसेविकालाई श्रम शोषण गराउन नपाउने धारणा राख्नुहुन्छ । उहाँ भन्नुहुन्छ,’स्वास्थ्य स्वयंसेविका हुन् सित्तैमा काम गर्दिन्छन् भन्ने सोच छ । स्वास्थ्य बाहेकका काममा पनि हामीलाई सहभागी गराउँछन् ।’
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले ६० वर्षको उमेरसम्म काम गर्न सक्ने भनिएको छ । त्यसैगरी उनीहरूको बिदाइका बेला २० हजार रुपैयाँ दिइने नियम छ । त्यत्तिका वर्ष निःस्वार्थ भावले दिदीबहिनीहरूले काम गर्नुहुन्छ । उहाँहरुको मूल्यांकन त्यति मात्र हो त ? कम्तीमा एक लाख रुपैयाँसम्म बढाउनुपर्छ भन्ने हाम्रो माग हो,’ उहाँको माग छ ।
स्वास्थ्य स्वयंसेविकालाई दिइने भत्ता पनि चार सयबाट एक हजार पाँच सय रुपैयाँ पुर्याउनुपर्ने उहाँको माग छ । ‘योगदानमा आधारित सामाजिक सुरक्षाबारेमा सरकारले सोच्नुपर्छ । ताकि हामीहरूको पनि काम गर्न जाँगर बढोस् । सरकारले ऊर्जा थप्ने काम गर्दिनुपर्छ । स्वयमसेविका भन्दैमा त्यसै काम लगाउन पाइँदैन,’ उहाँले भन्रुभयाे ।
सरकारले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम विसं २०४५ सालदेखि २८ जिल्लाबाट सुरू गरेको थियो । स्वास्थ्य स्वयंसेविकाले पोषण तथा खोप कार्यक्रम, सरूवा तथा महामारी रोग नियन्त्रणमा सहयोग, वातावरणीय तथा व्यक्तिगत सरसफाइ, परिवार नियोजनसम्बन्धी सल्लाह दिने, सुरक्षित मातृत्व तथा नवजात शिशु सरसफाइसम्बन्धी समाजमा भूमिका निर्वाह गर्दै आइरहेका छन् ।
प्रतिकरात्मक तथा प्रबर्द्धनात्मक सेवा पुर्याउन सहयोग गरिरहेका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका हाल देशभर सेवारत छन् । हाल ५१ हजार चार सय २३ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सेवारत रहेको तथ्याङ्क छ ।
