काठमाडौं । नेपालका लागि इजरायलका नवनियुक्त राजदूत श्मुलिक एरी बासले बिहीबार राजधानीमा पत्रकारहरूसँग परिचयात्मक भेटघाट गर्नुभएको छ।
राजदूत बासले पत्रकारहरूसँग नेपाल-इजरायल कूटनीतिक सम्बन्ध, अक्टोबर ७ पछिको मध्यपूर्वको अवस्थाबारे ब्रीफिङ साथै परिचयात्मक भेटघाट र छलफल गर्नुभएको हो ।
सन् २०२३ अक्टोबर ७ मा नोभा म्युजिक फेस्टिभलमा सहभागी सबैलाई र वरपरका क्षेत्रमा बस्नेहरूमाथि आतंकवादी संगठन हमासले आक्रमण गर्दा इजरायलमा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत रहेका १० नेपाली विद्यार्थीको क्रुर हत्या भएको थियो।
उक्त घटनाको स्मरण गर्दै उहाँले १७ नेपाली विद्यार्थीहरुमध्ये ६ जना घाइते र अपहरणमा परेका विपिन जोशीबारे चर्चा गर्नुभयो ।
उहाँले आतंकवादी संगठन हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको जानकारी अरब स्रोतबाट पाएको समेत बताउनुभयो ।
अरब स्रोतका अनुसार जोशी जीवितै छन् : राजदूत बास
उहाँले भन्नुभयो-‘जोशी जीवितै छन् भन्ने सम्म चाहिँ मैले अरब स्रोतबाट थाह पाएको छु । तर कुन अवस्थामा कहाँ राखिएको छ भन्नेबारे भने कुनै जानकारी छैन ।’ उहाँले जोशी छिट्टै रिहा भएर नेपाल घर फर्कने आशा व्यक्त गर्दै भन्नुभयो- ‘अपहरणमा परेकामध्ये अहिलेसम्म एक सय ५४ जना फर्काइसकिएको छ । तीमध्ये केही रिहा गरिएका हुन् भने केहीको इजरायली सेनाद्वारा उद्धार गरिएको हो । बाँकी एक सय एक जना बन्धकहरुलाई पनि फर्काइने प्रयास जारी छ । तीमध्ये एक जोशी पनि पर्ने छन् भन्ने हाम्रो विश्वास छ ।’ 
जोशीबारे थप चर्चा गर्दै उहाँले भन्नुभयो- ‘म जोशीको परिवार र अन्य व्यक्तिहरूले उहाँको बारेमा कस्तो महसुस गरिरहनुभएको छ भनेर बुझ्न सक्छु। विपिन जोशी धेरै महत्त्वपूर्ण हुनुहुन्छ। तर, हामीले बुझ्नुपर्छ, विपिनजस्ता अरू पनि धेरै बन्धक छन्’ ।
इजरायली सरकारले मारिएका ती नेपाली विद्यार्थीका परिवारलाई इजरायली नागरिकका परिवारले जस्तै आर्थिक सहयोग उपलब्ध गराइरहेको उहाँको भनाइ छ । साथै, उहाँले आउने दिनहरूमा नेपालका विद्यार्थीहरू फेरि इजरायलको ‘लर्न एन्ड अर्न ’ कार्यक्रममा सहभागी हुने आशा व्यक्त गर्नुभयो।

नेपालले हालको युद्ध अवस्थालाई ध्यानमा राख्दै कृषि विद्यार्थीलाई उक्त कार्यक्रमअन्तर्गत इजरायल पठाउन रोकेको भएपनि मलावी, कङ्गो र थाइल्यान्डका विद्यार्थीहरूले उक्त कार्यक्रमअन्तर्गत इजरायल फर्कन सुरु गरिसकेको जानकारी दिँदै राजदूतले भन्नुभयो, ‘इजरायली कृषिकर्ताहरू नेपाली विद्यार्थीहरूलाई फिर्ता ल्याउन चाहन्छन्, जहाँ उनीहरूले सिक्न र कमाउन सकुन्। हामी यो कार्यक्रम चाँडै पुनः सुरु हुने अपेक्षा गर्दछौँ।’
छलफलमा उहाँले इरान समर्थित लेबनानस्थित आतंकवादी संगठन हेजबुल्लाह र इजरायलबीच गत २७ नोभेम्बरमा युद्धविराम सम्झौता भएको भएता पनि आफ्नो नागरिकमाथि पुनः कुनै प्रकारको आक्रमण भएमा इजरायलले प्रतिकार गर्ने बताउनुभयो । उक्त युद्धविरामपछि एकातिर हमास एक्लिएको विश्लेषण भइरहेको छ भने अर्कोतिर हेजबुल्लाहले यसलाई शक्ति संचय गर्ने अवसरको रुपमा उपयोग गर्नसक्ने चर्चा पनि चलिरहेको छ ।

छलफलमा राजदूत बासले इजरायलद्वारा ICC को निर्णयको निन्दा, उक्त निर्णयबारे इजरायली प्रधानमन्त्री नेतान्याहु र परराष्ट्रमन्त्रीले दिनुभएको प्रतिक्रिया,इजरायल र हेज्बोल्लाहबीच संघर्षविराम सम्झौता(लेबनानमा युद्धविरामसम्बन्धी घोषणा) बारे संक्षिप्त प्रस्तुती दिनुभएको थियो ।
