धनकुटामा सय शैयाको अस्पताल निर्माणको कार्य तिब्र, ६० प्रतिशत निर्माण सम्पन्न

सन्तोष रूचाल, धनकुटा । धनकुटामा निर्माण भईरहेको १०० शैयाको धनकुटा जिल्ला अस्पतालको निर्माण कार्य ६० प्रतिशत सम्पन्न भएको छ । सम्झौता अनुसार समयमा काम सम्पन्न गर्ने गरी अस्पताल निर्माणको कार्यलाई तिब्रता दिइएको छ ।
कोशी प्रदेश सरकारको लगानीमा धनकुटा जिल्ला अस्पताललाई स्तरोन्नति गर्दै धनकुटा नगरपालिका–७ बसपार्क छेउमा आधुनिक र सुविधा सम्पन्न अन्डर ग्राउण्ड पार्किङ र लिफ्ट सहितको पाँच तले एक सय शैयाको सुविधा सम्पन्न अस्पताल भवन निर्माण भईरहेको छ ।

उक्त अस्पताल निर्माणको लागि कोशी प्रदेश सरकारले ४० करोड रुपैयाँ रकम विनियोजन गरेको छ । २०८० असार २४ गते ठेक्का सम्झौता भएको अस्पतालको २०८३ असार २४ गते निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नमुना कन्स्ट्रक्सन प्रा.लि. विराटनगरले भ्याटबाहेक २५ करोड २० लाख ३३ हजार ४ सय ४२ रुपैयाँ लागतमा निर्माणको जिम्मा पाएको छ । धनकुटा जिल्ला अस्पताल अहिले १५ शैयाको मात्र रहेको छ । त्यसलाई स्तरोन्नति गर्दै १०० शैयाको अस्पताल निर्माण गरिएको हो ।

उक्त कन्स्ट्रक्सनले समयमा काम सम्पन्न गर्ने गरी कामलाई तिब्रता दिएको जनाएको छ । अहिलेसम्म अस्पतालको भौतिक संरचना निर्माणको कार्य ६० प्रतिशत सम्पन्न भईसकेको नमुना कन्स्ट्रक्सन प्रा.लि. विराटनगरका इन्जिनियर रोशन शाहले बताउनुभयो । उहाँले भन्नुभयो–‘अहिलेसम्म हामीले भौतिक संरचनाको हिसाबले ६० प्रतिशत काम सम्पन्न गरी सकेका छौ । सम्झौता अनुसार २०८३ असार मसान्तसम्ममा काम सक्छौं ।’ १०० शैयाको अस्पताल निर्माण भई सञ्चालनमा आएपछि अस्पताललाई करिब पाँच सय कर्मचारी आवश्यक पर्ने धनकुटा जिल्ला अस्पताल धनकुटाका निमित्त प्रमुख डाक्टर अमिताभ ठाकुरले बताउनुभयो ।

धनकुटाका १०० शैयाको अस्पताल बनेपछि धनकुटा सहित छिमेकी जिल्लाका विरामीहरूले पनि विशेषज्ञ डाक्टरको सेवा प्राप्त गर्ने जिल्ला समन्वय समितिका प्रमुख एवम् अस्पताल विकास समितिको अध्यक्ष निरेन तामाङले बताउनुभयो ।
अहिले निर्माणाधिन अवस्थामा रहेको १०० शैया धनकुटा अस्पतालको ए ब्लक भवन छ र बी ब्लक भवन पाँच तलाको रहेको सहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाका सव–इन्जिनियर केशवकुमार यादवले बताउनुभयो ।

धनकुटा नगरपालिका–७ कृषि ज्ञान केन्द्र र रेशम विकास कार्यक्रम धनकुटाको करिब २५ रोपनी क्षेत्रफल जग्गा अस्पतालको नाममा ल्याएर अस्पताल निर्माण कार्य सुरू गरिएको हो । धनकुटामा १०० शैयाको अस्पताल निर्माण भएपछि धनकुटा सहित पूर्वी पहाडी जिल्ला भोजपुर, संखुवासभा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ लगायतका विरामीले सहज सेवा पाउने धनकुटा ‘क’ का माननीय कोशी प्रदेश सदस्य निरन राईले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *