कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’

काठमाडौं । लामो समयदेखि आवरण कला र लिपि साधनामा लाग्नुभएका रमेश पौडेलले आफ्नै हस्तलिपिलाई मौलिक फन्टका रूपमा विकास गर्नुभएको छ ।

पौडेलले आफूले यसअघि प्रचलनमा ल्याएका फन्टलाई समेटेर नेपाली र नेपाली यूनिकोड रोमनाइज्डमा टाइप गर्न मिल्ने गरी फन्ट विकास गरेको जानकारी दिनुभयो । उहाँले यसरी विकास गरेका फन्टलाई ‘आवरण यूनिकोड’ को नाम दिनुभएको छ । “मैले डिजाइन गरेका फन्ट नेपाल प्रज्ञा–प्रतिष्ठान र रेडियो नेपालले प्रचलनमा ल्याइसकेका छन् । हालसम्म दर्जनौँ फन्ट बनाइसकेको छु । यिनै फन्टको प्रयोग गरेर सात सयभन्दा बढी साहित्यिक कृतिको आवरणसमेत डिजाइन गरिसकेँ”, उहाँले भन्नुभयो,“लिपि पारखीहरूले मेरा फन्टलाई रूचाएर त्यही फन्टमा कृति प्रकाशन गर्ने माग बढ्दै गएकाले सिपलाई प्रविधिसँग जोड्ने सोचका साथ नेपाली यूनिकोड बनाएको हुँ ।”

पौडेलले यो कार्य निकै चुनौतीपूर्ण रहेको सुनाउनुभयो । उहाँले अगाडि भन्नुभयो,“नेपाली फन्ट डेढ दुई सय क्यारेक्टर बनाउँदा हुन्थ्यो भने यूनिकोडहजारौँ क्यारेक्टरको हाराहारीमा । फन्ट बनाउनेहरू हत्तपत्त यूनिकोड बनाउने आँट गर्दैनन् तर मैले जोखिम मोलेरै आफ्नै हस्तलिपिको नेपाली र नेपाली यूनिकोड रोमनाइज्डमा टाइप गर्न मिल्ने आवरण यूनिकोडफन्ट बनाएको छु ।”

रेडियो प्रसारकसमेत रहनुभएका पौडेलले मौलिक हस्तलिपि फन्टलाई थप प्रविधिमैत्री बनाउँदै विश्वव्यापी बनाउने सोचमा रहेको बताउनुभयो । यसका साथै नेपालका अन्य भाषाका लागि पनि खोज र डिजाइन कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । “सानैदेखि किताबकाभन्दा राम्रा अक्षर लेख्न सकिन्छ भन्ने विश्वास बोकको थिए । प्रकाशनमा कतिपय क्यरेक्टर अभाव हुने भएकाले तिनलाई ध्यानमा राखेर आवरण फन्टको सिरिज नै बनाए । फलतः यो प्रयासलाई संस्थागत रूप दिएर ‘आवरण प्रकाशन’को स्थापना गरेको छु । प्रकाशनले मौलिक कपिराइट फन्टमा दर्जनौँ कृतिसमेत प्रकाशित गरिसकेको छ”, उहाँले भन्नुभयो ।

करिव चार दशकेखि सिर्जना साधनामा लागेका पौडेल, कलाकार, कवि, गीतकार र रेडियो प्रसारकसमेत हुनुहुन्छ । उहाँले केही वर्षअघि रेडियो नेपालबाट अवकाश लिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *