काठमाडौं। इजरायलमा केयरगिभर क्षेत्रमा काम गर्न जाने २ हजार दुई सय २ जना नेपाली सहायक श्रमिकहरूको छनोट पारदर्शी रूपमा लटरी प्रक्रियामार्फत बिहीबार सम्पन्न भएको छ ।
इजरायललको जेरुसेलमस्थित पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पिबा) को मुख्यालयमा सम्पन्न इलेक्ट्रोनिक लटरी प्रक्रियामार्फत ३४६१ मध्येबाट २ हजार दुई सय २ जना छानिएका हुन् । इजरायलका अध्यागमन निर्देशक मोशे नकासलगायत पिबाका प्रमुख अधिकारी, इजरायलस्थित परराष्ट्रमन्त्रायलका अधिकारीहरुको उपस्थितिमा सम्पन्न उक्त लटरी प्रक्रियाबाट ती उम्मेदवारहरु छानिएका हुन् ।

जसमध्ये ६० प्रतिशत अर्थात १ हजार १ सय ९६ महिला र ४० प्रतिशत अर्थात १ हजार ६ जना पुरुष रहेको पिबाका अधिकारीहरुको भनाइ छ ।
काठमाडौंस्थित इजरायली दूताबासमा परराष्ट्र मन्त्रालयको प्रतिनिधि, सञ्चारकर्मीहरूको उपस्तथितिमा छनोट प्रक्रियाको गुगल मिट भिडियो कन्फ्ररेन्समार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो ।
छनोटमा परेका उम्मेदवारहरुको नामावली पिबाले काठमाडौंस्थित वैदेशिक रोजगार विभागलाई पठाइसकेको छ भने विभागले छिट्टै नामावली सार्वजनिक गर्ने बताइएको छ । छनोट भएका उम्मेदवारहरुले अन्तिम चरणको स्वास्थ्य परीक्षण गराउनुपर्नेछ । शारीरिक रुपमा सक्षम प्रमाणित भएका उम्मेदवारहरुलाई आगामी सेप्टेम्बरदेखि इजरायल पठाउन सुरु गरिनेछ ।

यो कार्यक्रम नेपाल र इजरायलबीच चलिरहेको सहकार्यमा एक महत्वपूर्ण कदमको रुपमा लिइएको छ । इजरायलको दीर्घकालीन स्याहार केन्द्रहरुमा सहायक कामदारको रुपमा काम गर्ने गरी २ हजार जनाको माग भएकोमा ४ हजार २४ जनाको आवेदन परेको थियो । तीमध्ये बैदेशिक रोजगार विभागले गत साउन २१ गते एक हजार ५ सय ९८ महिला र एक हजार ८ सय ६३ जना पुरुष गरी ३ हजार ४ सय ६१ जनाको नाम छनोट गरी पिबालाई पठाएको थियो । आवेदन दिएकामध्ये २ सय ४२ जनाको कागजात नपुगेको कारण र ३ सय २१ जनाको अन्य कारणले आवेदन रद्द भएको थियो ।

वैदेशिक विभागले पठाएको नामावलीमाथि पिबाले ती व्यक्तिहरु यसअघि इजरायल आए–नआएको, इजरायलमा कुनै आपराधिक गतिविधिमा संलग्न भए–नभएको र इजरायलमा कुनै आफन्त रहे नरहेको विषयमा छानबिन गरेर सफल उम्मेदवारलाई मात्रै गोलाप्रथामा समावेश गरेको होे ।
