काठमाडौं । इजरायलमा सहायक श्रमिकका रूपमा २००० नेपाली केयर गिभर लैजान छनोटको लागि आज (बिहिबार) लटरी(चिट्ठा) कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाल स्थित इजरायल दूतावासले भनेको छ, “इजरायलमा हेरचाहकर्ताको रूपमा भर्ती गर्नका लागि २००० सहायक श्रमिकहरूको छनोटको लागि PIBA मुख्यालय, जेरूसेलम, इजरायलमा बिहीबार, २९ अगस्ट २०२४ मा आयोजना गरिने लटरी/चिठ्ठा कार्यक्रमबारे जानकारी गर्न पाउँदा खुसी छौं ।”
इजरायलका विभिन्न मन्त्रालय र नेपाली दूतावास, इजरायलका प्रतिनिधिको उपस्थितिमा चिठ्ठा निकाल्न लागिएको इजरायल दूतावासले जनाएको छ ।
बिहिबार काठमाडौंस्थित इजरायल दूतावासमा नेपाली सञ्चारमाध्यम र नेपाल सरकारका प्रतिनिधिहरुको उपस्थितिमा यसको प्रत्यक्ष प्रशारण हुनेछ ।
चिठ्ठाको नतिजा काठमाडौंस्थित वैदेशिक रोजगार विभाग(DOFE )मा पेश गरिने दूतावासले जनाएको छ ।
नेपाल सरकार र इजरायल सरकारबीच २०७६ असोज १४ गते इजरायलका दीर्घकालीन सुसारे (केयर गिभर)का लागि नेपाली सहायक श्रमिक पठाउने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको थियो ।
यो प्रक्रिया नेपाल सरकार र इजरायल सरकारबीच जीटुजी मोडलबाट भएको हो । इजरायल रोजगारीमा जानेहरू एक वर्षको करार अवधिका लागि जाने भए पनि पाँच वर्षसम्म भिसा थप गरेर काम गर्न सक्छन् ।
