काठमाडौं । तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो । बस नदी किनारमा अड्किएको छ भने बसमा चालक, सहचालकसहित ४३ जना थिए ।
दिउँसो १ बजेसम्म १४ जनाको शव निकालिएको र १६ जना घाइतेको उद्धार गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जना र नम्बर २३ मनकामना गण भानु तनहुँबाट ३५ जनाको फौज उद्धारमा खटिएको प्रवक्ता थापाले जानकारी दिनुभयो ।
