काठमाडौं । सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
लुम्बिनीका निरोशन डिकवेलाले ३७ बलमा ५९ रन बनाउँदै जितमा महत्वपूर्ण योगदान दिए । कप्तान रोहित पौडेलले २१ रन जोडे । सुदूरपश्चिमका थरिन्दु रत्नायकले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ८ विकेट गुमाउँदै १०५ रन बनाएको थियो । कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५२ र ईशान पाण्डेले २७ रन बनाए । लुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले समान २ विकेट लिए ।
लिग चरणमा ७ खेलबाट ११ अंक जोड्दै शीर्ष स्थानमा रहेको लुम्बिनीले पहिलो क्वालिफायर जितेर फाइनल यात्रा तय गरेको हो । १० अंकसहित दोस्रो भएको सुदूरपश्चिमले भने फाइनल पुग्ने अर्को अवसर पाएको छ ।
सुदूरपश्चिमले बुधबार हुने काठमाडौं गोर्खाज र चितवन राइनोजबीचको इलिमिनेटर विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ ।
