चितवन । चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति तयार गरेको छ । रणनीतिअनुसार निकुञ्ज प्रशासन र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनासहित एक हजार २०० भन्दा बढी जनशक्ति परिचालन गरिने छ ।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार चाडपर्वमा अपरिचित व्यक्तिको चहलपहल बढी हुने हुँदा चोरीसिकारी हुन सक्ने भएकाले सुरक्षा रणनीतिसहित उच्च सतर्कता अपनाइएको हो ।
उहाँले भन्रुभयाे, “अहिले संवेदनशील क्षेत्रहरूमा ३५ वटा ‘स्पाई क्यामेरा’ जडान गरेर सुरक्षा दिइएको छ ।” चोरीसिकारीका हिसाबले जोखिम रहेका क्षेत्रमा स्पाई क्यामेरासहित क्याम्पिङ एन्ड एम्बुसिङलगायतका काम गरिने उहाँले जानकारी दिनुभयाे ।
सूचना अधिकारी मगरका अनुसार विगतमा हुने गरेका नियमित गस्तीका साथै स्विपिङ, पेट्रोलिङ, साइकल गस्ती, मोटरसाइकल गस्ती, डुङ्गा, गाडी र हात्तीबाट गस्ती गरिने छ । चाडपर्वको समयमा निकुञ्ज आसपासमा बसोबास गर्ने स्थानीय पर्व मनाउन व्यस्त हुने भएकाले चोरीसिकारीको जोखिम बढी रहने गरेको छ । संवेदनशील क्षेत्रमा ‘लिङ्क पेट्रोलिङ’ लगायतका काम भइरहेका छन् । चुरे क्षेत्रमा समेत चोरीसिकारी हुन सक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मिलाइएको छ ।
निकुञ्ज क्षेत्रभित्र ५७ स्थायी र तीन अस्थायी पोस्टबाट सुरक्षा दिने काम भइरहेको छ । यसलाई अझ चुस्त बनाउँदै स्थानीयसँगको साझेदारीमा निकुञ्जको सुरक्षा गरिने छ । शङ्कास्पद स्थानमा तालिमप्राप्त कुकुर (स्निफर डग) मार्फत निगरानी गरिने छ । आवश्यकताअनुसार अन्य सुरक्षा निकायसँग समेत समन्वय गरेर निकुञ्ज क्षेत्रका बस्तीमा पनि सुरक्षा सतर्कता बढाइएको उहाँले जानकारी दिनुभयाे ।
