राष्ट्रियसभामा पूर्वप्रधानन्यायाधीश जबरा पक्राउबारे जवाफ माग

काठमाडौं । सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा सरकारसँग स्पष्ट जवाफ माग गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा शून्य समयमा भाग लिँदै उनीहरूले जबरालाई नियन्त्रणमा लिइएको घटनाको कारण, कानुनी आधार र सरकारको धारणा संसद्मार्फत स्पष्ट गर्न सभाअध्यक्षमार्फत माग गरे ।

सांसद खम्मबहादुर खातीले पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा सभाध्यक्षमार्फत सरकारसँग स्पष्ट जवाफ माग्नुभयो ।

सांसद महन्थ ठाकुर र रामकुमारी झाँक्रीले पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारीप्रति विरोध जनाउनुभयो । उहाँहरूले यसबारे गृहमन्त्रीले सदनमार्फत स्पष्ट जवाफ दिनुपर्ने उहाँहरूको माग थियो ।

पूर्वप्रधानन्यायाधीश जबरालाई असोज ११ गते राति काठमाडौंको महाराजगञ्जस्थित निवासबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीले नियन्त्रणमा लिनुको कारण तत्काल सार्वजनिक नगरेको भन्दै सभा सदस्यहरूले उहाँलाई सोधपुछपछि घरमै सुरक्षा दिनेगरी छाडिएको सार्वजनिक विवरणबारे सरकारसँग जानकारी मागेको हो ।

बैठकमा सांसद चन्द्रबहादुर केसीले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गर्नुभयो । धमेन्द्र पासवानले रौतहटमा होचो बाँधका कारण समस्या हुने गरेको भन्दै अग्लो तटबन्ध निर्माण गर्न माग गर्नुभयो ।

सांसद मीना सिंह रखालले कर्णालीका सडक जोखिमपूर्ण रहेकाले दुर्घटना न्यूनीकरणका लागि सडक तथा पुल निर्माणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रेखाकुमारी झाले वर्षायाममा हुने बाढी, पहिरो र डुबानबाट हुने क्षति न्यूनीकरण तथा प्रभावित नागरिकलाई सुरक्षित बासस्थान र पुनःस्थापनाको व्यवस्था गर्न माग गर्नुभयो । सांसद रोशनी मेचेले मोबाइल बैंकिङलाई सुरक्षित बनाउन तथा बैंकिङ प्रणालीमार्फत नागरिकको सम्पत्तिको सुरक्षामा जिम्मेवार बन्न माग गर्नुभयो ।

सांसद सम्झना देवकोटाले गोरखामा प्राकृतिक विपद्सँगै हिमपातका कारण पर्यटकले सास्ती खेप्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद सोमनाथ पोर्तेलले झापामा जङ्गली हात्तीका कारण किसानको धानबालीमा वर्षेनि क्षति भइरहेको भन्दै पर्याप्त क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *