काठमाडौं । जेनजी आन्दोलन सुरू भएको आज एक वर्ष पूरा भएको छ। २०८२ भदौ २३ गते सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधबाट सुरू भएको आन्दोलन केही समयमै भ्रष्टाचार, बेथिति, नातावाद र राजनीतिक नेतृत्वप्रतिको असन्तुष्टिविरूद्धको व्यापक प्रदर्शनमा परिणत भएको थियो ।
आन्दोलनका क्रममा ठूलो मानवीय तथा भौतिक क्षति भयो । आन्दोलनले देशको राजनीतिक घटनाक्रममा समेत ठूलो परिवर्तन ल्यायो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो र मुलुक निर्वाचनतर्फ अघि बढ्यो ।
एक वर्षपछि पनि जेनजी आन्दोलनले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, राजनीतिक जवाफदेहिता र नयाँ पुस्ताको सहभागितासम्बन्धी मुद्दा बहसकै केन्द्रमा छन् । आन्दोलनमा ज्यान गुमाएका युवाको सम्झनामा आज ‘जेनजी सहिद दिवस’ मनाइँदैछ भने सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।
आन्दोलनको एक वर्ष पूरा हुँदा जेनजी पुस्ताले उठाएका माग कति सम्बोधन भए र त्यसबाट अपेक्षित परिवर्तन कति संस्थागत भयो भन्ने प्रश्न भने अझै कायमै छ । आन्दोलनले राजनीतिक नेतृत्व र राज्य सञ्चालनको शैलीप्रति उठाएका प्रश्नको दीर्घकालीन जवाफ खोज्नुपर्ने चुनौतीसमेत देखाएको छ ।
