काठमाडौं । रसुवाको आमाछोदिङमो गाउँपालिका–१ स्थित हाकु क्षेत्र पनि भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित बन्यो । वडाका ६५–७० जना बेपत्ता छन् । पुल बगाएसँगै हाकुबेँसीसँग सडक सम्पर्कविच्छेद छ ।
आमाछोदिङ्मो–१ का वडाध्यक्ष साङ लामा तामाङले हाकु क्षेत्रका धेरै स्थानीय बाढीमा बेपत्ता भएका बताउनुभयो । यहाँ घरहरू बाढीले बगाएको छैन । तर, जलविद्युत् आयोजना काम गर्ने स्थानीय बाढीमा परेका उहाँले जानकारी दिनुभयो ।
“यहाँबाट ६५–७० जना बेपत्ता हुनुहुन्छ, अहिलेसम्म अत्तोपत्तो छैन,” धुन्चेमा रहेका लामाले बाह्रखरीसँग भने, “गाउँमा न विद्युत् आपूर्ति भएको छ न त टेलिकमको नेटवर्क नै चलेको छ ।”
उहाँले सबैभन्दा संकट हाकुबेँसीमा रहेको सुनाउनुभयो । “हाकुबेँसी खोलापारि छ । एउटा पुल भएर नजिक थियो, अहिले त पुल बगाएपछि त्यहाँको बासिन्दा सहाराविहीन भएका छन्,” उहाँले भन्नुभयो, “राहत सामग्री पनि पुर्याउन सकिने अवस्था छैन । किनेर खान पनि नपाउने अवस्था बन्दै छ ।”
यति मात्र नभएर हाकुबेँसी बाढीको जोखिममा पनि रहेको उहाँले बताउनुभयो । “लगातार पानी पर्यो भने हाकुबेँसी बगाउन सक्ने जोखिम छ,” उहाँले भन्नुभयो, “मेरो संघीय सरकारलाई आग्रह छ– हाकुबेँसीका बासिन्दालाई अन्यत्र सारेर ढुक्क बनाउन सहयोग गरिदेओस् ।”
संघ सरकार ‘हावामा छ’
संघ सरकारले आफ्नो ठाउँबाट काम गरिरहे पनि समन्वयको अभावमा वास्तविक पीडित र समस्याको पहिचानमा चुकिरहेको उहाँले बताउनुभयो । जिल्ला विपद् व्यवस्थापन समिति नै गाउँका समस्यामा जानकार नहुने उहाँले उल्लेख गर्नुभयो ।
“हाम्रोमा हेलिकोप्टर उडेको उड्यै छन्, राहत पनि ल्याएकै त होला,” वडाध्यक्ष लामाले भन्नुभयो, “तर, पीडितहरूले राहत पाउन सकेका छैनन् । स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गर्न उहाँहरू (संघ सरकारका प्रतिनिधि) तयार देखिँदै हुनु हुन्न ।”
आफूले प्रमुख जिल्ला अधिकारी, रसुवाका प्रहरी प्रमुखसहितसँग समन्वयको प्रयास गरेको उहाँले बताउनुभयो । तर, उद्धार र राहतमा समन्वय हुन नसकेको उहाँको भनाइ छ ।
“स्थानीय समस्या त स्थानीय जनप्रतिनिधिले जत्तिको जिल्ला विपद् व्यवस्थापन समितिले जान्दैन, प्रदेश सरकार र संघीय सरकारलाई त लोकोसनकै समस्या हुन्छ,” वडाध्यक्ष लामाले भन्नुभयो, “त्यही भएर हेली उडिरहेको छ, तर पीडित जनताले राहत पाउन सकेको छैन ।”
