त्रिशूली । भोटेकोसी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा बढीको उद्धार गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीको अनुसार गए रातिसम्म तीन हजार २९ जनालाई रसुवा र नुवाकोटको विभिन्न स्थानबाट उद्धार गरिएको हो ।
तीमध्ये नेपाली नागरिक दुई हजार ७७६ जना र विदेसी २५३ जना छन् । पछिल्लो २४ घण्टामा ६२४ जनाको उद्धार गरिएको प्रजिअ रेग्मीले जानकारी दिनुभयो ।
“बाढीबाट ज्यान जोगाइ सुरक्षित स्थानमा आश्रय लिएर बसिरहेकालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।” प्रजिअ रेग्मीले भन्नुभयो, “उनीहरूको स्वास्थ्य जाँच गरेर उपचार आवश्यक पर्नेलाई सोही अनुसार स्वास्थ्य संस्थामा सिफारिस गरिएको छ भने बाँकीलाई पारिवारिक पुनर्मिलन गराइएको छ ।”
भोटेकोसी बाढीमा अलपत्र परेकालाई उद्धारअन्तर्गत जलविद्युत् आयोजनाको सुरूङभित्र रहेको भनिएकाबाहेकको उद्धार जारी छ ।
तर, रसुवाको टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायत स्थानमा अझै केही फसेको हुनसक्छ भनेर नियमित रूपमा हेलिकोप्टरमार्फत रेकी भइरहेको प्रजिअ रेग्मीको भनाइ छ ।
यसैगरी, भोटेकोसी बाढीमा परेर हराएको जनाउँदै आइतबारसम्म एक हजार पाँचसयभन्दा बढी व्यक्तिको परिवारको निवेदन परेको छ । नुवाकोट र रसुवाको विभिन्न स्थानबाट आफ्नो मान्छे हराएको जनाउँदै खोजतलासको लागी एक हजार ५५८ जनाको निवेदन प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक विपीन रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार हराएका व्यक्तिको खोजतलासका लागि नेपाल प्रहरीको वेबसाइड, जिल्ला प्रहरी कार्यालय, प्रशासन कार्यालय र श्री नं १ सैन्य तालिम केन्द्र विदुरमा निवेदन दिन सकिन्छ । हराइरहेका तथा बाढीमा फसेकालाई खोज तथा उद्धारमा हेलिकोप्टर, तालिमप्राप्त कुकुर र ड्रोन क्यामेराको सहयोगमा संयुक्त सुरक्षा फौजको टोली सक्रिय रहेको छ ।
बाढीमा परेर ज्यान गुमाएकामध्ये हालसम्म नुवाकोटमा ९५ जनाको शव संकलन भएको छ । जिल्लाको विभिन्न ३० स्थानमा सयुक्त सुरक्षा टोली परिचालनमार्फत गरिएको खोज तथा उद्धारमार्फत ती शव संकलन गरिएको हो ।
संक्लन भएको शवलाई पहिचानको लागि प्रहरीले तस्बिरसहितको विवरण सार्वजनिक गरेको छ । शवलाई नुवाकोटबाट परीक्षणको लागी शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा पठाएकाले सम्बन्धित परिवारलाई अस्पतालमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
रासस
