बागलुङ । बागलुङमा एचआइभी सङ्क्रमितको संख्या २२० पुगेको छ । चालु आर्थिक वर्षमा आठ नयाँ सङ्क्रमित थपिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी देवप्रकाश घिमिरेका अनुसार सङ्क्रमितमध्ये १५ वर्षमुनिका ६ जना र १५ वर्षमाथिका २१४ जना छन् । त्यस्तै, ११४ जना महिला र १०६ जना पुरुष रहेका छन् ।
सङ्क्रमितहरूले धवलागिरि प्रादेशिक अस्पताल बागलुङ, बुर्तिबाङ अस्पताल र बेनी अस्पतालबाट नियमित रूपमा एआरटी (एन्टिरेट्रोभाइरल थेरापी) सेवा लिइरहेका छन् । सङ्क्रमितलाई गोप्य रूपमा नियमित औषधि सेवनको दायरामा ल्याउने अभियानलाई तीव्र बनाइएको घिमिरेले बताउनुभयाे ।
उहाँका अनुसार हरेक वर्ष एचआइभी परीक्षण अभियान सञ्चालन हुँदै आएको छ । अघिल्लो आर्थिक वर्षमा करिब २० हजार जनाको परीक्षण गर्दा १० जनामा सङ्क्रमण पुष्टि भएको थियो भने चालु आर्थिक वर्षमा आठ जनामा एचआइभी सङ्क्रमण देखिएको छ । अधिकांश नयाँ सङ्क्रमित विदेशबाट फर्किएका व्यक्ति रहेको उहाँले बताउनुभयाे ।
घिमिरेका अनुसार असुरक्षित यौन सम्पर्क, सङ्क्रमित रगतको प्रयोग तथा लागुऔषध प्रयोग गर्दा एउटै सुई प्रयोग गर्नेजस्ता कारणले एचआइभी सर्ने गर्छ । समाजमा हुने लाञ्छना र भेदभावका कारण सङ्क्रमितको पहिचान तथा उपचारमा ल्याउन अझै चुनौती रहेको उहाँले बताउनुभयाे ।
