हुम्लाको नेप्का गाउँमा मध्यरातमा बाढी: विद्यालय, खेतीयोग्य जमिन र गोठ बगायो

हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–५ नेप्का गाउँमा आएको बाढी पहिरोले ठूलो क्षति पुगेको छ। मंगलबार राती एक्कासी असिना–पानी सहितको बाढीले गोठ, डाँफे आधारभूत विद्यालय भवन र १५ रोपनी खेती योग्य जमिनमा क्षति पुर्‍याएको चंखेली गाउँपालिका वडा नम्बर ५ का स्थानीय छक्कबहादुर तामाङले बताउनुभयो ।

वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ पनि पहिरोले पुरेको छ । त्यसबाट ५३ वटा भेँडा बाख्रामा क्षति पुगेको छ । वडा अध्यक्ष तामाङका अनुसार विद्यालयका ३ वटा भवन भत्काएको छ । स्थानीय धन्सिंह तामाङको बाख्रागोठ बगाउँदा ९३ वटा बाख्रा बगाएको छ । यसैगरी करिब ७० घरधुरीका खेतीयोग्य जमिनमा लगाएको बालीनाली सखाप पारेको छ ।

वडामा ल्याएको खानेपानीको ट्ङ्की ( ८ हजार घनमिटर) र ७ मिटर खानेपानीको पाइप पनि बगाएको र कादुरी नामक संस्थाले निर्माण गरेको माइक्रोहाइड्रोको मुहान बगाएको बताइएको छ । डाँफे आधारभूत विद्यालयको ५ कोठे भवन भत्किएपछि विद्यालयको कम्युटर, प्रिन्टर, लगायतका सम्पूर्ण सामाग्री नष्ट भएको डाँफे आधारभूत विद्यालयका प्रधानाध्यापक बलि तामाङले जानकारी दिनुभयो ।

सुरक्षा व्यवस्थापनको टोलीले गर्‍यो अनुगमन

घटनालगत्तै प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मी नेतृत्वको टोलीले बुधबार स्थलगत अनुगमन गरेको छ । सदरमुकामबाट फिस्टेल हेलिकोप्टरमार्फत बाढी पहिरो गएको स्थान नेप्कामा अनुगमन गरिएको जिल्ला प्रहरी कार्यालय पप्रमुख डीएसपी शंकर खड्काले बताउनुभयो । उहाँका अनुसार आफ्नो टोली बाढी पहिरो गएको स्थलमा गइ अनुगमन गर्दा नागरिकको थुप्रै क्षति भएको र खेतीयोग्य जमिनमा लगाएको बाली बगाउँदा खानलाई समस्या हुने देखिएको बताउनुभयो ।

यता प्रहरी मुचुल्काको लागि गएको टोली ६ घण्टापछि पुगेको छ । हुम्ला सदरमुकाम सिमकोटदेखि उत्तरपूर्वमा रहेको चंखेली गाउँपालिकाको तल्लो पाली, माथिल्लो पाली, पिप्लाङ र नेप्का गरी चार गाउँमध्ये गाउँपालिकाको केन्द्र पिप्लाङभन्दा निकै टाढा रहेको नेप्का गाउँ करिब ५ घण्टा पैदल हिँडेर जानुपर्ने बाध्यता रहेको छ ।

पीडितलाई राहत व्यवस्था गर्न सांसदहरूको माग

हुम्ला जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य जयपति रोकायाले नेप्का गाउँका बाढी पीडित परिवारलाई तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद रोकायाले प्रतिनिधि सभाको बैठकमा हुम्लाको नेप्का गाउँमा आकस्मात भीषण असिना पानीसहित आएको बाढीले पुर्‍याएकाले तत्काल राहतको व्यवस्था गर्न सरकारसँग जोडदार माग गर्नुभयो ।

यस्तै नेकपा (एमाले) की सांसद यशोदाकुमारी बरालले हुम्लाको चंखेली गाउँपालिकामा गएको भीषण पहिरोका पीडितलाई तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद बरालले प्राकृतिक विपत्तिका कारण भएको क्षतिप्रति दु:ख व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

‘भीषण पहिरोका कारण विद्यालय र गाउँबस्तीमा ठूलो क्षति पुगेको छ, सरकारले प्रभावित क्षेत्रमा छिटोभन्दा छिटो राहतको प्रबन्ध मिलाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘सदनमा पुराना दलहरूले केही गरेनन् भन्दै ‘सदन गनायो’ जस्ता अमानवीय र अशिष्ट शब्दहरू प्रयोग भइरहेका छन् । यस्ता शब्दहरू तत्काल संसदको रेकर्डबाट हटाइनुपर्छ ।’

अन्नपूर्ण

Leave a Reply

Your email address will not be published. Required fields are marked *