गृहमन्त्री सुधन गुरुङले दिए पदबाट राजीनामा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिनुभएकाे छ । विवादित व्यापारी दीपक भट्टसँग सेयर लगानी लगायतका विषयमा नागरिक स्तरबाट उठेका प्रश्न र टिप्पणीहरूलाई सम्बोधन गर्दै उहाँले नैतिकताको आधारमा राजीनामा दिएको घोषणा गर्नुभएकाे हाे ।

सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री गुरुङले आजकै मितिदेखि लागू हुने गरी पद त्याग गरेको जानकारी दिनुभएकाे हाे । चैत १३ देखि गृह प्रशासनको नेतृत्व सम्हाल्दै आएका उहाँले सार्वजनिक जीवन स्वच्छ र पारदर्शी हुनुपर्नेमा जोड दिनुभएकाे छ ।

मन्त्री गुरुङले पदभन्दा नैतिकता र शक्तिभन्दा जनविश्वास ठुलो भएको उल्लेख गर्नुभएकाे छ । ‘आज देशमा सुशासन र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ भन्ने सन्देश दिएको छ,’ उहाँले भन्रुभएकाे छ, ‘मेरा ४६ जना भाइ-बहिनीहरूको रगत र बलिदानीको आडमा बनेको यो सरकारमाथि कसैले प्रश्न उठाउँछ भने त्यसको जवाफ नैतिकता नै हुनुपर्छ ।’

उहाँले आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘स्वार्थको द्वन्द्व’ नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको स्पष्ट पार्नुभएकाे छ ।

राजीनामा घोषणाकै क्रममा गुरुङले सञ्चारकर्मीहरूलाई पनि नैतिकताको प्रश्न उठाउनुभएकाे छ । उहाँले भन्रुभएकाे छ, ‘कति मिडियाकर्मी साथीहरूको कहाँ-कहाँ ‘स्वीट शेयर’ छ, त्यो पनि बिस्तारै आउला । रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ ।’

उहाँले आम नेपाली र युवाहरूलाई सम्बोधन गर्दै साँच्चै परिवर्तन चाहने हो भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनुपर्ने अपिल गर्नुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *